जनकपुरधाम । आफैंले बोकेको पेस्तोल हराएको पत्तो नपाउने नेपाल प्रहरीका एक जुनियर अधिकृतलाई कारबाही नगरी जोगाउन मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया नै लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत कवईगोठका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) संजीव मिश्रले चार दिनअघि सोमबार पेस्तोल हराएका थिए । ७ राउन्ड गोली लोड गर्न मिल्ने अमेरिकी पेस्तोल बोकेर ड्युटीमा गएका उनले हराएका थिए । कवईगोठ चौकी सीमाक्षेत्रमा पर्दछ ।
मिश्र सीमाक्षेत्रमा ड्युटीमा जाँदा आफैंले बोकेको पेस्तोल हराएका थिए । सोमबार हराएको पेस्तोल आज बिहीबारसम्म पनि भेटिएको छैन । सई मिश्रले पेस्तोल हराएपछि मधेश प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । रिजालले उनलाई जोगाउन खोजेका छन् ।
डीआईजी थपलिया पनि उनलाई जोगाउनेतर्फ लागेको आरोप छ । पेस्तोल लिएर आएमा कारबाही नगर्ने हिसाबले सई मिश्रलाई उन्मुक्ति दिन लागिएको छ ।नेपाल फेसबाट ।