मुस्ताङमा चिसोले झरना पहाडमै जमे

3.8k Shares

मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि चार हजार ५ सय मिटर अग्लो विशाल चट्टानको पहाडबाट निरन्तर खस्ने झरना मुस्ताङमा चिसो बढेसँगै अहिले जमेर बरफ बनेपछि घुम्न जाने समेत बढेका छन् ।

फल्याक र धाकार्रजुङ गाउँबीचबाट बग्ने लुम्बुक खोलाको शिरानबाट बग्ने लुम्बुक झरना जमेछिको दृष्यले मोहित बनाएको पर्यटक प्रकाश पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो, "झरना जमेर बरफ भएको छ, अहिले मुस्ताङ घुम्न आउनेहरु यहाँसम्म पुगेर फर्किन्छन् ।" झरनासँगै त्यहाँ रहेको गुरु पद्यसम्भवले ध्यान साधना गरेको गुफा समेत पर्यटकको आर्कषणको केन्द्र रहेको वडाअध्यक्ष सुरेन्द्र गुरूङको भनाइ छ । झरनासम्म पुग्न पदमार्ग सहितको संरचनाहले समेत सहज भएको छ । तल्लो र माथिल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेपछि साना खोला, सिचाई कुलो, खानेपानीको धारासँगै बाटोमा सित जमेर बरफ भएको छ । 

तल्लो मुस्ताङको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्रका साथै उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण पहाडबाट खस्ने झरना जमेर पहाड नै सेताम्मे भएको छ भने खानेपानीको धारा समेत जमेपछि तातोपानीले बरफ फुटालेर खानेपानी प्रयोग गर्ने गरिएको छ । मुस्ताङबाट बग्ने कालिगण्डकी नदी, कागखोला सहित पानीको सतह धेरै भएका बाहेक साना र सहायक खोला, कुलो जमेकोे बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । 

वडा अध्यक्ष गुरूङले भन्नुभयो, "बिहान–बेलुकी अत्याधिक जाडो छ, दिउँसो घाम लागेको बेलामा केही सहज छ ।" कागबेनीदेखि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या समेत ह्वात्तै घटेको भएपनि मुक्तिनाथ मन्दिरमा नेपाली र भारतीय धार्मिक तिर्थालु आइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको संचार शाखाले जनाएको छ । पुस १० गते बेनी–जोमसोम सडकखण्डबाट २२ सय १४ जना पर्यटक मुस्ताङ प्रवेश गरेकोमा १८ सय ६४ जना बाहिरिएब थिए भने १३ सय ५० जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो । 

उपल्लो मुस्ताङको नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय तथा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ क्षेत्रमा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा झरेको छ।

अत्याधिक चिसो बढेपछि उपल्लो मुस्ताङका बस्तीहरू सुनसान हुन थालेका छन् ।अत्याधिक चिसोका कारण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीको सङ्ख्या पातलिएको छ । मुस्ताङमा मङ्सिरदेखि मध्य फागुन महिनासम्म जनजीवन कष्टकर हुन्छ । मुस्ताङबाट जाडो छल्न बाहिरिएका स्थानीय फागुनको अन्त्य अथवा चैत्र महिनामा मात्रै जिल्ला फर्किने गरेका छन् । 

सम्बन्धित समाचार