ललितपुर । पछिल्लो समय ललितपुर जिल्लामा मिटर व्याजी, किर्ते र ठगी धन्दा मौलाउँदै आएको पाइएको छ ।
यसरी ठगी, मिटरव्याजी र किर्ते गरी विभिन्न व्यक्तिहरुलाई घर न घाटको बनाउने ललितपुर महानगरपालिका वडा नं. ९ बस्ने सुरेन्द्र महर्जन रहेको बुझिएको छ । महर्जनले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने बहाना बनाउँदै ऋण वा सापटी दिएको रकमको कागज बनाई चेक लिई धितोवापत राखेको घर जग्गा मनी, पावर र पसलको भरमा खाइदिने गरेको पीडितहरुले खोजतलाससँग गुनासो पोखेका छन् ।
महर्जनले यस्तो कार्यका लागि अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्ने बहाना बनाउँदै घर न घाटको बनाउने गरेको पीडितको भनाई रहेको छ । यस्तो धन्दा गरेर सुरेन्द्र महर्जन अहिले करोडौं पति बनिसकेको पीडितहरुले बताएका छन् ।
सुरेन्द्र महर्जनले यस्तै गतिविधि गरी काठमाडौं महानगरपालिका वडा नं ११ को कित्ता नं. २४६१ को दुई आना क्षेत्रफल भएको अमूल्य जग्गा मनी, पावर र मसलकै भरमा आफ्नो नाममा ल्याउन सफल बनेका छन् । महर्जनले मदन कटुवालका नाममा रहेको सो जग्गा सुमेरु सहकारीमा धितो राखेको र समयमा ऋण तिर्न नसकेर सुमेरुका संचालकले ६० लाखमा धितो वापत राजिनामा पास गरेर लिएका थिए । तर, जग्गा धनी भनिएका कटुवालले आफूले लिएको ऋणको साँवा र ब्याज तिर्छु भन्दा पनि कटुवालाई सुरेन्द्रले उल्टै मुद्दा हाली सो घर कब्जा लिई झण्डै दुई करोडमा बेचेर उमेश महर्जनको नाममा पुगिसकेको छ ।
सुरेन्द्रको चक्रब्यूहमा पर्ने कटुवाल त एउटा पात्र मात्र हुन् । सुरेन्द्रबाट यसरी पीडित बनेका पीडितहरु गनी साध्य नभएको स्रोतले दाबी गरेको छ । सुरेन्द्र महर्जन र उनका आसेपासेको पीडितहरुसँग बिचाराधिन मुद्दाहरु पनि गनिसाध्य नभएको पीडितहरुले गुनासो पोखेका छन् ।
यस विषयमा खोजतलासले पीडक भनिएका सुरेन्द्र महर्जनसँग बुझ्दा उनले यसबारेमा मलाई जानकारी छैन । यो सत्य होइन भन्ने जवाफ दिएका थिए ।