काठमाडौं । देशमा आर्थिक मन्दी चरम् चुलिमा पुगिरहेको अवस्थामा डण्डी र सिमेन्ट उद्योगीहरुले अप्रत्यासित रुपमा मूल्य वृद्धि गर्दा निर्माण व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् ।
यसरी उद्योगीहरुले मनलाग्दीरुपमा मूल्य वृद्धि गर्दा सरकार तथा सम्बन्धित निकाय मौन बस्नुले सरकार र उद्योगीकै सेटिङमा मूल्य वृद्धि गरेको निर्माण व्यवसायी तथा सर्वसाधारणहरुले बताउन थालेका छन् ।
घर बनाउँदा होस् वा साना–ठूला पूर्वाधार निर्माण गर्दा अहिलेको अवस्थामा फलामे डण्डी र सिमेन्ट अति आवश्यक रहन्छ । यस्ता अति आवश्यक डण्डी र सिमेन्टमा उद्योगीहरुले लगातार रुपमा मूल्यवृद्धि गर्दा सरकार अन्धो भएर बसेको छ । पछिल्लो समय तिन हप्ताको बिचमा उद्योगीहरुले डण्डीमा पटक—पटक गरी मूल्यवृद्धि गर्नु देशमा धेरै निर्माण कार्यहरु भई माग बढेर होइन, झन माग घटिरहेको अवस्थामा डन्डीको मूल्य आकासिनु भनेको सरकार र उद्योगीको सेटिङ्गमा भएको जो कसैले पनि स्पष्टरुपमा बुझ्न सक्छ । देश गणतन्त्रमा धकेलिएपछि ज—जसले सरकारको नेतृत्व गरिरहेको छ ति सबैले उद्योगीको निर्देशन अनुसार चली मूल्य वृद्धि गर्दै आइरहेको कारण निर्माण व्यवसायी र सर्वसाधारणहरु आजित बनेकै कारण देशमा राष्ट्रवादी शक्तिप्रति जनचासो बढ्दै गइरहेको छ ।
डन्डीका उपभोक्ता सर्वसाधारणदेखि ठूला निर्माण व्यवसायीहरू डन्डीको मूल्य अस्वाभाविक वृद्धि हुनुमा डन्डी उत्पादन गर्ने उद्योगीहरूको सरकारका जिम्मेवार व्यक्तिहरुसँग सेटिङ्गमै यस्तो कार्य गर्दै आइरहेको उनीहरुको बुझाई रहेको छ ।
उपभोक्ताहरुको यस्तो बुझाई रहनुको मुख्य कारण भनेको तिन साताभित्र उद्योगीहरूले डन्डीको भाउ पाँच पटकसम्म बढाउँदा पनि सरकार मुकदर्शक भई आँखा चिम्लिनुले हो ।
डन्डी बिक्री वितरण गर्ने डिलरहरूले उपलब्ध गराएको तथ्यांक हेर्दा गत फागुन १७ गतेसम्म डन्डी किलोको ८७ रुपैयाँमा किनबेच भइरहेको थियो । त्यसपछि उद्योगीहरूले १८ फागुनमा १ रुपैयाँ १४ पैसा बढाएर किलोको ८८ रुपैयाँ १४ पैसा पु¥याइदिए । त्यतिले नपुगेर सात दिनपछि २५ फागुनमा फेरि ३ रुपैयाँ ३९ पैसा बढाएर किलोकै ९१ रुपैयाँ ५३ पैसा बनाइदिए । फेरि पुनः तीन दिनपछि २८ फागुनमा ४ रुपैयाँ ५२ पैसा वृद्धि गरी डन्डी किलोको ९६ रुपैयाँ ०५ पैसा पु¥याइ दिए । उद्योगीहरूलाई अझै पुगेको थिएन, अनि फेरि चार दिनपछि ३ चैतमा ३ रुपैयाँ ९५ पैसा बढाएर किलोको १ सय रुपैयाँ बनाइ दिएका छन् ।
१८ फागुनदेखि ४ चैत अर्थात् १६ दिनभित्र उद्योगीहरूले डन्डीको भाउ किलोमै १८ रुपैयाँसम्मको भारी वृद्धि गरिदिएका छन् । यसको मार सर्वसाधारणदेखि निर्माण व्यवसायीहरुले प्रत्यक्षरुपमा परेको छ । यति ठूलो मात्रामा पटक—पटक गरी मूल्य वृद्धि गर्दा पनि अझ डन्डीको भाउ बढाउन उद्योगीहरूले रोकिने छाँटकाँट देखाएका छैनन् । उद्योगीहरुले डन्डीको भाउ किलोको १ सय ५ रुपैयाँ बनाउने निर्णय गरिसकेका छन् ।
निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले त सरकारकै संरक्षणमा उद्योगीहरूले डन्डीको भाउ अस्वाभाविक रुपमा बढाई रहेको आरोप समेत लगाइसकेका छन् ।
सोही दिन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले उद्योगमन्त्री दामोदर भण्डारीकै सामुन्ने सरकारको संरक्षणमा उद्योगीहरूले डन्डी र सिमेन्टको भाउ बढाएको आरोप लगाएका छन् । बैठकमा निर्माण व्यवसायी र सांसदहरू एकातिर अर्कोतिर उद्योगमन्त्री र उद्योगीहरू एकतर्फ भई चर्को विवाद भएको थियो । त्यसमाथि उद्योगमन्त्री भण्डारीले ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’ भन्ने जवाफ फर्काएपछि समिति बैठकको माहोल तातेको थियो ।
उद्योग मन्त्री भण्डारीको यस्तो अभिव्यक्तिले के प्रष्ट हुन्छ भने उद्योगीहरुले सेटिङमा डण्डी र सिमेन्टको भाउ सरकारकै ग्रिन सिग्नलमा अप्रत्यासित रुपमा बढाएको प्रष्टरुपमा बुझ्न सकिन्छ ।
देश चरम आर्थिक अभाव खेपिरहेको अवस्थामा सरकारले उद्योगीहरुको निर्देशन अनुसार उद्योगीकै संरक्षण गरी निर्माण व्यवसायी र सर्वसाधारणलाई सिधै असर पर्ने काम गरी उद्योगीहरुलाई कालोबजारी गरे कारबाही गर्नुपर्नेमा उल्टै संरक्षण गरी कालोबजारी गर्न छुट दिएको उपभोक्ताहरुले गुनासो पोख्न थालेका छन् ।
यसरी उद्योगीहरुले निर्माण सामग्रीको भाउ अस्वाभाविक वृद्धि गरिरहने हो भने पहिले नै ठेक्का सम्झौता गरेका परियोजनाको लागत बढ्ने र समयमा काम सक्न गाह्रो भई विकास निर्माणमा सिधै असर परेको छ । निर्माण सामग्रीको भाउ अस्वाभाविक वृद्धि भइरहने हो भने पहिले नै ठेक्का सम्झौता गरेका परियोजनाको लागत बढ्ने र समयमा काम सक्न गाह्रो हुने निर्माण व्यवसायीको गुनासो छ ।