काठमाडौँ । ज्ञान संस्कार इन्टरनेशनल स्कूल, सामाखुशी चोक, काठमाडौँले तृतीय ज्ञान संस्कार इन्टरस्कूल नेशनल स्केट च्याम्पियन आयोजना गर्ने भएको छ । विद्यालयले मिति २०८२।०९।०२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता मिति २०८२ साल पुष ०५ गते सञ्चालन हुनेछ ।
वि.सं. २०७९ सालमा काठमाडौँ उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेशनल स्कूलले जीवनोपयोगी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै विविध शैक्षिक तथा सह–पाठ्यक्रमगत गतिविधिहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट ३०० भन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ । साथै, सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले स्केटिङ खेल पर्यावरणमैत्री (इको–फ्रेन्डली) खेल भएको बताउँदै यसलाई वातावरण अनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने धारणा व्यक्त गरेकी थिइन् । उनले स्केटिङले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेकी थिइन् ।
आयोजकका अनुसार यस प्रतियोगिताले विद्यालय तहमा स्केटिङ खेलप्रति उत्साह अभिवृद्धि गर्नुका साथै युवामाझ लोकप्रिय बन्दै गएको नेपाली स्केटिङ खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने व्यवस्था समेत गरिएको छ ।
प्रतियोगिताको उद्घाटन मिति २०८२ पुष ०५ गते बिहान ९ बजे नेपालल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय श्री बब्लु गुप्ताबाट हुने छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन ज्ञान संस्कार इन्टरनेशनल स्कूलले गर्ने जनाएको छ । आयोजकले देशभरका विद्यालय, खेलाडी, खेलप्रेमी तथा सरोकारवाला सबैको सक्रिय सहभागिताबाट कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेको छ ।