कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

7.2k Shares

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई सोमबार बिदाइ गरेको हो । 

आगामी पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । 

हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । 

खगेन्द्रप्रसाद र रूद्रकलीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुराइने र पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटबाट सिधै कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए ।

बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसार सामु चिनाउन हात्ती उपहारले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । 

कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन् । विसं २०८१ बैंशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।

सम्बन्धित समाचार