बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन काठमाण्डौमा चल्दै

5.7k Shares

काठमाण्डाै – बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन काठमाण्डौमा चलिरहेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न साझेदारहरूको सहयोगमा हिजोदेखि आयोजना गरेको सम्मेलन आज सकिनेछ ।

सम्मेलनमा मिचाहा प्रजातिबारे विभिन्न विषयमा छलफल आयोजना भइरहेका छन् । नेपालमा मिचाहा प्रजाति सङ्कटका रूपमा बढिरहेकोले यसबारेमा सरोकारवाला पक्षबीच साझा बुझाइ बनाउँदै व्यवस्थापनको काम गर्न सम्मेलन आयोजना गरेको केन्द्रका महानिर्देशक राजेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले मिचाहा वनस्पति तथा माछाका कारण रैथानेहरू समस्यामा परिरहेका भन्दै बाह्य मिचाहा प्रजातिको नियन्त्रण तथा व्यवस्थापन अति आवश्यक रहेको भन्दै सरकारले यसका लागि काम गर्ने बताउनुभयो ।

सम्मेलन आज काठमाण्डौ घोषणापत्र जारी गर्दै सकिने केन्द्रका महानिर्देशक राजेन्द्र केसीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रध्यापक एवम् मिचाहा प्रजाति विज्ञ डा. भरतबाबु श्रेष्ठका अनुसार मानिसको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताबाट आफ्नो प्राकृतिक क्षेत्रभन्दा बाहिर पुर्‍याइएका वनस्पति तथा जीवजन्तुलाई बाह्य मिचाहा प्रजाति भनिन्छ ।

नेपालमा अहिलेसम्म दुई सय २५ भन्दा धेरै फूल फुल्ने बाह्य वनस्पति प्रजाति रहेकामा तीमध्ये ३० वटा प्रजाति मिचाहाका रूपमा देखिएका छन् । तीमध्ये विश्वमा अत्यन्त हानिकारक प्रजातिका रूपमा पहिचान गरिएका ६ वटा वनस्पति– सेतो वनमारा, लहरे वनमारा, काँडे वनमारा, जलकुम्भी, इपिल–इपिल र सिङ्गापुर डिजी नेपालमा बाह्य मिचाहाका रूपमा स्थापित भइसकेका छन् ।

सम्बन्धित समाचार