धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । हड्डी र नसासम्बन्धी समस्याका कारण हिड्डुल गर्न अप्ठ्यारो भएपछि आज विहान उहाँ उपचारका लागि दिल्ली प्रस्थान गर्नुभएको हो ।
मुख्यमन्त्री शाह स्थलमार्ग भएर दिल्लीतर्फ गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार मुख्यमन्त्री शाहको दायाँ खुट्टाको रीढको हड्डी र नसाको समस्या देखिएको छ । उहाँले काठमाडौंको मेडिसिटी र धनगढीको सेती प्रादेशिक अस्पतालमा त्यसको उपचार गराउँदै आउनुभएको थियो ।
समस्या समाधान नभएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारतको नयाँ दिल्ली गएको जनाइएको छ । उहाँको उपचार नयाँ दिल्लीको साकेटस्थित म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।
उहाँले मुख्यमन्त्री शाह दिल्लीमा धेरै दिन नबस्ने र उपचार लगत्तै चाडै फर्कने बताउनुभयो । मुख्यमन्त्री शाहले आन्तरिक मामिला तथ कानुनमन्त्री बहादुरसिंह थापाले कार्यबाहक जिम्मेवारी दिएर आफू उपचारको लागि दिल्लीतर्फ गएको जनाइएको छ । मुख्यमन्त्री शाहले भारतमा आफ्नो व्यक्तिगत खर्चमा उपचार गराउने सचिवालयले जानकारी दिएको छ ।