मछिन्द्रलाई लिगमा फाइनल जस्तै खेल

21.4k Shares

काठमाडौं । साविक विजेता मछिन्द्र र नेपाल पुलिस क्लबबीच आज हुने खेलले नेपालबाट एएफसी कप छनोट प्रतियोगिता खेल्ने टोलीको टुंगो लाग्नेछ । 

सामान्यत सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता टोलीले यस प्रतियोगितामा सहभागी हुने हो । तर, एएफसीले यस प्रतियोगितामा सहभागी हुन क्लब लाइसेन्स अनिवार्य गरिदिएको छ । नेपालमा क्लब लाइसेन्स लिने चार क्लब (मछिन्द्र, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल) मात्र हुन् । 

लिग सकिँदा यी चारमध्ये सबैभन्दा शीर्ष स्थानमा हुनेले एएफसी कप खेल्नु पर्ने हो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको तालिका मिलाउन नसक्दा सातौं चरणको खेल सकिँदा सबभन्दा माथि हुने क्लब लाइसेन्स प्राप्त टोलीले एएफसी कप खेल्ने भएको हो । 

सातौं चरणको खेलसम्म आइपुग्दा मनाङ र मछिन्द्रबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा छ । मनाङ शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइजलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । 

मनाङले सात खेलबाट १६ अंक जोडेको छ । जुन मछिन्द्रको भन्दा दुई अंकले माथि हो । मछिन्द्रले एक खेल कम खेलेको छ । त्यसकारण एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रका लागि आजको खेल जित्नै पर्ने हुन्छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ४ः४५ बजे हुने खेल साविक विजेता मछिन्द्रलाई फाइनल जस्तै हो । जिते एएफसी कपमा छनोट हुनेछ । अन्यथा दोस्रो स्थानमा यथावत रहनेछ । 

नेपाल पुलिस ६ खेलबाट ६ अंक जोड्दै दशौँ स्थानमा छ । नेपाल पुलिसले ६ मध्ये एक खेलमात्र जित निकाल्न सफल भएको छ । तीन खेल बराबरी खेलेको नेपाल पुलिसले दुई खेल हारेको छ । 

रेलिगेशन क्षेत्रको च्यालस युथभन्दा एक अंकले मात्र माथि रहेको नेपाल पुलिस आज मछिन्द्रलाई हराएर रेलिगेशन क्षेत्रबाट टाढा भाग्न चाहन्छ । तर, पुलिसलाई स्टार खेलाडीको भरिएको मछिन्द्रविरुद्ध जित निकाल्न सहज भने हुनेछैन । तथापि, पुलिसले मछिन्द्रलाई बराबरीमा रोक्दै एएफसी कपको यात्रामा पूर्ण विराम लगाइदिन सक्ने सम्भावना भने हुन्छ । 

सम्बन्धित समाचार