‘स्टुडेन्ट अफ द इयर’ को अडिशन भोलिदेखि, कुन ठाउँमा कहिले ?

6.8k Shares

काठमाण्डौ – ‘स्टुडेन्ट अफ द इयर नेपाल’ को अडिशन भोलिदेखि शुरू हुने भएको छ । भोलि झापाकाे बिर्तामोडबाट अडिशन शुरू हुने आयोजकले आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

‘स्टुडेन्ट अफ द इयर नेपाल’ राष्ट्रियस्तरको विद्यार्थी प्रतिभा खोजी अभियान भएकाले नेपालभरि रहेका प्रतिभावान् विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य रहेको ‘स्टुडेन्ट अफ द इयर राष्ट्रिय समिति’ ले जनाएको छ ।

अडिशन देशभरका ११ प्रमुख शहरमा सञ्जालन हुनेछ । झन्डै १० हजार विद्यार्थीबाट गरिने अडिनशनबाट छनोट भएका २ सय जनाबाट ४० जनामा छनोट गरी ‘अनलाइन भोटिङ’ को प्रत्रिया शुरू हुने प्रतियोगिताका निर्णायक तथा युवा वैज्ञानिक आरिफ अलीले जानकारी दिए । यसबाट विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र प्रतिभा उजागर गर्ने लक्ष्य लिएको उनले बताए ।

भोलि बिर्तामोडदेखि शुरू हुने अडिशिन मङ्सिर १३ गते माेरङकाे विराटनगर, १७ गते सुनसरीकाे धरान, २० गते धनुषाकाे जनकपुर, २२ गते चितवन, २४ गते कास्कीकाे पोखरा, २६ गते रुपन्देहीकाे बुटवल, २९ गते कैलालीकाे धनगढी, पुस ३ गते ललितपुर, ५ गते भक्तपुर र ७ गते काठमाण्डौमा हुनेछ ।

यो प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका १३ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रमको सञ्चालन इभा गिरीले गर्नेछिन् भने निर्णायकमा आरिफ अली र बैंकर अलिन केशरी शाह छन् ।

गएको मङ्गलवार भएको पत्रकार सम्मलेनमा कार्यक्रमबाट निर्णायकसमेत रहेकी नायिका प्रियंका कार्कीले व्यक्तिगत केही आफ्ना सर्त भएकाले कार्यक्रममा सहभागिता नरहने बताएकी थिइन् । त्यसपछि आयोजकले आज फेरि पत्रकार सम्मेलन आयोजना गरी उठेका प्रश्न र भ्रमबारे स्पष्ट पारेको छ । छिट्टै छलफल गरी अर्को निर्णायककाबारे जानकारी दिइने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार