हिल्सा नाकाबाट दोहोरो तस्करी: चीनका सामान भित्रिन्छन्, नेपालका जडिबुटी बाहिरिन्छन्

6.6k Shares

हुम्ला । हुम्लाको उत्तर सिमानामा अवस्थित हिल्सा नाका अहिले नेपाल–चीन सीमापार व्यापारका नाममा तस्करीको केन्द्र बन्दै गएको छ। हिमालपारिको यो दुर्गम नाका औपचारिक रूपमा व्यापारिक आवत–जावतका लागि सीमित समयका लागि मात्र खुल्ने भए पनि पछिल्ला वर्षहरूमा यहाँबाट चिनियाँ सामानको अबैध निकासी–पसेसी र नेपालका अमूल्य जडिबुटीको तस्करी तीव्र रूपमा बढेको देखिन्छ।

हिल्सा हुँदै नेपालतर्फ चिनियाँ उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, लत्ताकपडा, र दैनिक उपभोगका वस्तुहरू बिना भन्सार कर भित्रिने गरेका छन्।स्थानीय व्यापारीका अनुसार, हिल्सा हुँदै हिल्सादेखि सिमकोट र नेपालगञ्जसम्म सस्तो मूल्यमा चिनियाँ वस्तुहरू आपूर्ति हुने भएकाले बजारमा ती सामानको माग उच्च छ।तर, यसरी भन्सार शुल्क नतिरी आउने वस्तुले राजस्व चुहावट मात्र होइन, स्थानीय उत्पादनमा असर पनि पारेको छ । स्थानीय प्रहरी र प्रशासनले केहीपटक सामान नियन्त्रणमा लिए पनि सीमित जनशक्ति र कठिन भौगोलिक अवस्थाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको बताइन्छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए ।

हुम्ला, मुगु र डोल्पा क्षेत्र प्राकृतिक सम्पदाले धनी छन्। यथार्थमा, यहाँ पाइने यार्सागुम्बा, कुटकी, जटामसी, पदमचाल, र पाँखानबेड जस्ता जडिबुटीहरू चीनमा अत्यधिक मूल्यमा बिक्री हुने गर्छन्।

तर, यिनको आधिकारिक रूपमा निकासी गर्न कानुनी प्रक्रिया जटिल र ढिलो हुने भएकाले धेरै व्यापारीहरूले अबैध बाटो रोज्ने गरेका छन्।स्थानीय बासिन्दाले रातारात पर्वतीय बाटो हुँदै चीनतर्फ जडिबुटी बोक्ने समूहहरू जाने गरेको देखिने बताएका छन्। यसरी हुने तस्करीले राज्यलाई करोडौंको राजस्व घाटा मात्र होइन, जडिबुटीको दिगो संरक्षणमा समेत खतरा निम्त्याएको छ।
हिल्सास्थित स्थानीय प्रशासनले तस्करी नियन्त्रणका लागि संयुक्त निगरानी टोली गठन गरे पनि भूगोलिक दुर्गमता, संचार अभाव र सीमित स्रोतका कारण प्रभावकारी नियन्त्रण सम्भव भएको छैन।सिमानामा स्थायी भन्सार चौकी र आधुनिक स्क्यान प्रणाली नहुँदा तस्करी रोक्न थप कठिनाइ भएको स्थानीय अधिकारीहरू बताउँछन्।

हुम्ला जिल्लामा जिल्ला प्रहरी कार्यालयको मातहत रहेका सबै इलाका प्रहरी कार्यालय (इप्रका) र प्रहरी चौकीहरूले प्रत्येक महिनामा जिल्ला प्रहरी प्रमुख (डिएसपी) लाई निश्चित रकम बुझाउनुपर्ने बाध्यता रहेको भन्ने गुनासो प्राप्त भएको छ। यस्तो अभ्यासले प्रहरी संगठनभित्र पारदर्शिता, जवाफदेहिता र ईमानदार सेवाप्रति नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ।

यदि सो कुरा सत्य भएमा, यसले कानून र संगठनात्मक आचारसंहिताको उल्लंघन हुने भएकाले तत्काल यथार्थ छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने आवश्यकता देखिन्छ। साथै, प्रहरी सेवामा जनविश्वास कायम राख्न आन्तरिक अनुगमन र वित्तीय पारदर्शितालाई अझ सुदृढ बनाउने व्यवस्था गर्नुपर्छ।यस सम्बन्धमा सम्बन्धित निकायले तुरुन्त ध्यान दिनु जरुरी छ।

नेपाल–चीन प्रशासनबीच नियमित बैठक र सूचनाको आदान–प्रदान हुनुपर्ने सुझाव विशेषज्ञहरूको छ।हिल्सा र आसपासका क्षेत्रमा पर्याप्त सुरक्षा बल, उपकरण र यातायात सुविधा आवश्यक छ। सीमाक्षेत्रमा वैध व्यापार र रोजगारको अवसर बढेमा तस्करीतर्फ आकर्षण घट्नेछ।जडिबुटी संकलन, प्रशोधन र वैध निर्यात प्रणालीलाई सहज र पारदर्शी बनाउन जरुरी छ।

हिल्सा नाका नेपालको उत्तर सिमानाको आर्थिक प्रवेशद्वार हो। यदि यस नाकाको व्यवस्थापन पारदर्शी र प्रभावकारी रूपमा गरिएन भने, यो नाका राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहनको मार्ग बन्ने खतरा छ।तस्करी नियन्त्रणका प्रयासहरूलाई दीर्घकालीन नीतिगत तहमा लैजान सके मात्र हुम्ला–हिल्सा क्षेत्र वैध व्यापार र सीमास्तरीय सहकार्यको आदर्श केन्द्र बन्न सक्छ।

सम्बन्धित समाचार