काठमाण्डौ – ‘फ्लड लाइट’ ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेपछि काठमाण्डौ गुर्खाजका कप्तान करण केसीले यस मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा निकै खुसी लागेको बताए । ‘खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लडलाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ’, उनले भने, ‘फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसका पनि पहिलो खेलमै जित हात पार्दा निकै खुसी छौँ ।’
पहिलो खेलमा पिचले स्पिनरलाई साथ दिएको उनको भनाइ थियो । स्पिनरकै कारणले खेल आफूहरुले जितेको उनले प्रतिक्रिया दिए । ‘आउँदो दिनमा पनि राम्रो गर्दै जानेछौँ’, उनले भने, ‘शुरूआत सुखद् छ, नेपाली र विदेशी सबै खेलाडीको प्रदर्शन राम्रो भयो ।’ उनले गएको संस्करणमा भएका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्यका साथ आफूहरुले तयारी गरेको बताए ।
खेलपछि जनकपुरका बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ ।’
आफू ब्याटिङमा चुक्दा खेल आफ्नो पक्षमा नपरेको उल्लेख गर्दै साहले ब्याटिङमा लामो साझेदारी बन्दा नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, ‘पारीको शुरूआत राम्रो भयो, आसिफले राम्रो ब्याटिङ गरे पनि उनीसँगको साझेदारी अन्य ब्याटरको हुन सकेन, लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कनसक्ने अवस्था रहेन ।’ प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
एनपीएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो । फ्लड लाइटका जडानका लागि सरकारले ४२ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका ६ वटा खम्बामा फ्लडलाइट जडान गरिएको छ । कम्पनीका अनुसार एउटा खम्बामा ७० वटा लाइट गरी कूल चार सय २० वटा लाइट जडान भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलका कूल ३२ खेलमध्ये २३ फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ । हिजोदेखि शुरू भएको एनपीएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाण्डौ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।