समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य

6k Shares

काठमाडौं– समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।

आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. एली प्रधान रञ्जितकारले समय पूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताइन् । समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने उनको भनाइ छ ।

नोभेम्बर १७ मा समय अगावै जन्मिएका नवजात शिशु दिवस (वर्ल्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ । यस दिवसले समय पूर्व जन्मिएका शिशु र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राखेको छ ।

यही दिवसका अवसरमा डा. प्रधानले भनिन्, ‘त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।’

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । 

‘जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ’, उनले भनिन् ।

डा. प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । 

उनले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताइन् ।

सम्बन्धित समाचार