कति टाढा छ काठमाडौं?

11.2k Shares

कति माथि छ काठमाडौं?
कर्णालीमा सडक नबने पनि

काठमाडौंमा गाडी रोकिदैन।
महाकालीमा मान्छे घाइते भए पनि

काठमाडौंमा रगत पोखिदैन।
जाजरकोट जोरले कराउँदा पनि

भुटो लाग्दैन काठमाडौंलाई।
रोल्पामा हजारौं शहिद हुँदा पनि
जुठो लाग्दैन काठमाडौंलाई।

किन चाहियो जुम्लाको स्याउ?
रत्नपार्कका बदाम भए पुग्छ काठमाडौंलाई।

किन चाहियो डोल्पाको यार्चागुम्बा?
वोरोफिन र सिटामल भए पुग्छ काठमाडौंलाई।

किन चाहिए कर्णालीका सुन्दरश्वरी देवस्थलहरु?
गुह्यश्वरी भए पुग्छ काठमाडौंलाई।

किन चाहियो राराको स्वच्छ पवित्र जल?
टुकुचाको पानी भए पुग्छ काठमाडौंलाई।

नमिचियोस् थानकोटको सिमाना,
बरु मिचियोस् पश्चिम काली पूर्व पशुपती।

चाहिँदैन काञ्जिरोवा र साइपाल हिमाल,
कृत्रिम धरहरा भए पुग्छ काठमाडौंलाई।

जलन या ढलुन गरिबका झोपडी।सिंहदरवार र बालुवाटार भए पुग्छ काठमाडौँलाई

कुटो कोदालो चलाउनेहरूको ठाउँ होइन त्यो
प्लेन पजेरो चलाउनेहरूको वस्ती हो काठमाडौँ
नाङ्गै ढुङ्गा माटोमा बस्नेहरूको ठाउँ होइन त्यो

सोफासेट र घुम्ने कुर्चीमा बस्नेहरूको वस्ती हो काठमाडौँ।

निर्धा निमुखा गरिबहरूको वस्ती होइन त्यो
पद पुँजी प्राप्ति पछि विलासी व्यक्तिको वस्ती हो काठमाडौँ।

भूगोल जोडिए पनि
साइनो गाँसिए पनि

कति टाढा छ काठमाडौं
कति माथि छ काठमाडौं।

जति दौडे पनि भेटाउँदैन कर्णालीले
जति निहाले पनि देख्दैन कर्णालीले।

भाषा एउटै छ हाम्रो
तर आशा अलग छ हाम्रो।

देश एउटै छ हाम्रो
भेष अलग छ हाम्रो।

नोट एउटै छ हाम्रो
कोट अलग छ हाम्रो।

हामीले दिने भोट एउटै छ हाम्रो
तर हामी बस्ने गोठ अलग छ हाम्रो।

त्यसैले कति टाढा छ काठमाडौं
कति माथि छ काठमाडौं।

वीर अस्पताल भएको देशमा
हजारौं वीर मर्छन् रोगतन्त्रले।

देश शोक तन्त्रमा डुबेका बेला
काठमाडौँ रमाउँछ लोकतन्त्रले।

कति टाढा छ काठमाडौं
कति माथि छ काठमाडौं।

सम्बन्धित समाचार