परासी । नवलपरासी जिल्लाका नाकाबाट दुबै प्रहरीको संरक्षण र सेटिङमा तस्करी भैरहेको समाचार नवजनप्रहार साप्ताहिकले प्रकाशित गरेपछि भारत तस्करी गर्न लागिएको लसुन बरामद भएको घटनाले पनि थप पुष्टि गरेको छ ।
तस्करहरूले सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गरेको समाचार बाहिरिएसंगै दुबै प्रहरीले लसुन बरामद गरेका हुन् । नेपाल प्रहरीले पडरी भन्ने ठाउँबाट लसुन सहितको दुईवटा पिकअप र सशस्त्र प्रहरीले रगरगंजमा लसुन सहितको एक पिकअप गाडी पक्राउ गरेको थियो ।
उक्त तीनवटा पिकअपमा परै लसुन लोड गरिएको थियो । तस्करी गरिरहेको अवस्थामा बरामद उक्त लसुन भारतीय नागरिक सन्तोष गुप्ताको भएको दुबै प्रहरीले जानकारी दिएको छ ।
नेपाली बब्लुसिंहको टोलीले जिम्मा लिएको थियो । उनीहरूले फिल्डमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्न लागेको भए पनि अन्यत्रबाट अर्को टोली गएर लसुन पक्राउ गरेका थिए । सशस्त्र प्रहरी बलको हरपुर स्थित गुल्मबाट सहायक हवल्दार संजय चौधरी समेत अन्य घुमुवाको रूपमा खटिएका छन् ।
त्यसैगरी रगरगंज र पडरीमामा सशस्त्रको गुग्मबाट मोटरसाइकल टोली खटिन्छ । तस्करहरूले उनीहरूलाई मिलाएर तस्करी गर्दछन् । त्यसैगरी नेपाल प्रहरीको तर्फबाट रगरगंज र पडरी अर्थात गेर्मीमा चौकी छ । तस्करहरूले ती चौकी प्रमुखहरूलाई मिलाएर तस्करी गरिरहेका छन् ।
यसैगरी बुधबार राति सशस्त्र प्रहरीले बसैया स्थित ५१२ नम्बर पिलरबाट तस्करी गरि ल्याएको २० कार्टुन अर्थात हजार केजी माछा बरामद गरेको छ । पिन्टु भन्ने तस्करले उक्त माछा सशस्त्र र नेपाल प्रहरीको स्थानीय बसैया टोलीलाई मिलाएर ल्याए पनि बाहिरको सशस्त्रको टोली गएर बरामद गरेको थियो ।
सिमानाका गेर्मी, हकुई, भुजहवा, महेशपुर, बसहिया, प्रसौनी, रामनगर लगायतका नाकाबाट तस्करी भैरहेको हो । यो नाका तस्करीको अखडानै बनेको स्थानीयहरुले जानकारी दिए ।भारतबाट कपडा, टायल, हाड्र्वेर, चिनी, दाल, खाद्य सामान, काजु बदाम, मोबाइल, भाडा बर्तन, किरानाका सामान, भैसी, पाडा, खसि,बोका, ब्रोईलरका कुखुरा/चल्ला अबैधरुपमा ल्याउने गरिन्छ ।
नेपालबाट यी नाका हुँदै लसुन, मकै, सुपारी, अबैधरुपमा तस्करी हुदैछ । नवलपरासीको सनई , गेरमी, अमानिगन्ज, भुजहवा, पाँचपेडा, बसैहिया, रामनगर नाका यतिबेला कपडा तस्करीको लागि मुख्य रोजाई बनेको छ ।
जब राति हुन्छ तब सनई,गेरमी, अमानिगनज ,भुजहवा, पाँचपेडा , बसैहिया , रामनगर हुँदै परासी जाने बाटोबाट खुलेआम लाइनबद्ध मोटरसाइकलबाट कपडा तस्करी गरिरहेको स्थानीयले प्रत्यक्ष देख्दादेख्दै पनि बरामद नगरेको आरोप छ ।तर जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) र सशस्त्र प्रहरी बल २६ नम्बर गणका हाकिम कानमा तेल हालेर सुतेको देखिन्छ ।
कपडाको तस्करी गर्ने सनई , गेरमी नाकाबाट बेचे गुप्ता, संजय, मेनु रहेका छन् भने अमानिगन्ज, महेशपुर, भुजहवाबाट राकेश सहानी, सुभाष हरिजनको कारोबार चल्दआएको छ । त्यसैगरी पाँचपेडा, बसैहिया, धर्माैली नाकाबाट मामा भने सानू पाल, सुस्ता वडा नं १ बस्ने महेन्द्र चौधरी, रानीनगर बस्ने अमरले ठूलो मात्रामा कपडाको तस्करी गर्दै आएको स्थानीय तथा प्रहरीले जानकारी दिएका छन् ।
पश्चिम नवलपरासी जिल्लाका आसपासका भारतीय नाकाहरूबाट अवैध रूपमा रांगा तथा पाडाहरू नेपाल तर्फको बजारमा भित्रने क्रम बढेको छ। भैसी बजारमा अधिकांश भारतबाट अवैध रूपमा ल्याइएका रांगा तथा पाडाहरूको बिक्री वितरण भइरहेको छ।मुख्य रूपमा नेपाल भारत सीमावर्ती नाकाहरू पश्चिम नवलपरासीको भुजहवा , हरकपुरा , बसैया नाकाबाट बढी भैंसी नेपाल तस्करी गरेर ल्याउने काम हुने गरेको छ र अन्य आसपासका ससाना नाकाहरूबाट रांगा तथा पाडाको तस्करी हुँदै आएको छ।
सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरूसंगकै मिलोमतोमा यसरी खुलेयाम रूपमा भारतीय गाउँबाट नेपाली बजारमा रांगा पाडाहरू भित्रने गरेको छ।भैसी बजार हरेक हप्ताको मंगलबार करिब १ हजार बढी रांगा, पाडा तथा भैसीहरूको खरिद बिक्री हुने गरेको छ। स्थानीय कृषकहरूले पनि यस बजारमा आफ्नो घरको भैसी, रांगा, पाडा ल्याउने गरेका छन्। तर अधिकांश भैंसी भने भारतबाट नै तस्करी हुने गर्दछ ।तर ठुलो संख्यामा भारतीय सीमावर्ती गाउँहरूबाट आउने रांगा पाडाहरूको भरमा यो बजार टिकेको छ ।
यस्ता पाडाहरूलाई डोर्याएर लैजान पाडा व्यापारीहरूले दर्जन बढी व्यक्तिहरूलाई मासिक १० हजार देखि १५ हजार रुपैयाँ सम्ममा काममा लगाएका छन्। नेपाल भित्र्याए पछि नेपालको वा भारतको भनेर चिन्न नसकिने भएका कारण पनि भारतबाट ल्याइएका पाडाहरूलाई नेपाली गाउँबाट खरिद गरेको देखाएर बिक्री वितरण गरिँदै आइएको छ। खुला सीमानाको फाइदा उठाउँदै सीमा क्षेत्रबाट भित्रने यस्ता रांगा पाडाहरूबाट मासिक रूपमा लाखौं रुपैयाँको भन्सार राजश्व समेत गुमेको छ।