बाँके नछाड्ने यिनलाई कसको संरक्षण हो? बाँकेका नाकाबाट चोरी तस्करी

8.5k Shares

नेपालगन्ज । हुनेलाई चैन , नहुनेलाई ऐन भन्ने उखान वास्तवमा त्यसै बनेको रहेनछ । त्यसमाथि नेपाल जस्तो मुलुकमा त झन् यो उखान सतप्रतिशत सत्य हुने नै भयो । राजनीतिले गांजेको , प्रशासन र सुरक्षा निकायले आफ्नो जिम्मेवारी बिर्सेर काम गर्नुपर्ने अवस्था रहेको समयमा त झन् यो उखान सत्य सावित हुने नै भयो । यो अवस्थामा जिम्मेवारीमा बसेकाहरूले समेत आँखा चिम्लिदा झन् खतरा हुने रहेछ । अनि मौकाको फाइदा उठाउंदै जिम्मेवारीमा बसेकाले पनि आफ्नो स्वार्थ अनुसार काम गर्दा रहेछन् । यस्ता उदाहरणहरू सयौं भेटिन्छन् । 

एउटा यस्तै उखानसंग मिल्ने समाचार हामीलाई प्राप्त भएको छ । सशस्त्र प्रहरी बलको एक जना निरीक्षक यो उखानसंग मिलेको भन्दै पठाइएको समाचार यस्तो छ । २०६१ साल चैतमा असई दर्जामा भर्ना भएका बिजय प्रताप सिंह अहिले सशस्त्र प्रहरी निरीक्षक पदमा कार्यरत छन् । उनी असई भएर २०६३ सालदेखि त्रिपुरागण कोहलपुरमा कार्यरत रहेको बेलामा पनि लामो समय बांकेको घुमुवाको रूपमा कार्यरत थिए । २०६७ सालको अन्त्य सम्म उनी बांकेमा सशस्त्र प्रहरी बलको घुमुवाको रूपमा परिचालित थिए । २०६८ देखि २०७२ सम्मको बीचमा उनी कैलाली र बैतडीमा कार्यरत थिए । त्यसपछि फेरि २०७३ देखि २०७८ साल सम्म सई दर्जामा बढुवा भए पछि बिजय प्रताप सिंह दोस्रो पटक बांकेको घुमुवा बने । उनी अझै कति भाग्यमानी छन् भने , सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भए पछि पनि उनी फेरि बांकेमा नै छन् । उनी अहिले बांकेको सबैभन्दा बढी तस्करी हुने ठाउँ जमुनाहा नाकाको आइसिपी स्थित गुल्ममा कार्यरत छन् । आइसिपीमा प्रस्तावित गुल्मको प्रमुखमा मदन बिक्रम केसी डिएसपी छन् । तर असई हुदा देखि लगातार हाल सम्म पनि बांकेमा त्यसमाथि धेरै लामो समय घुमुवाको रूपमा कार्यरत हालका निरीक्षक बिजय प्रताप सिंहले कुन चाहिँ तस्कर र कुन चाहिँ व्यापारी चिन्दैनन् होला । अनि बांकेमा नाकाबाट तस्करी कसरी नियन्त्रण होला ? प्रश्न यहीँ हो । 

हाम्रो समाचारस्रोतले जानकारी दिए अनुसार गुल्म अन्तर्गतका बिओपी हुन या अन्य बिओपी अहिले कसको लाइन चलाउने , नचलाउने भन्ने कुरा सिंह र बांकेमा लामो समयदेखि कार्यरत केही असई , सई , निरीक्षकको समूहले गर्ने गरेको छ ।

बाँकेको खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका सहायक नाकाबाट चोरी तस्करी भइरहेको छ । नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिएको छ । राज्यले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अवैध ओसारपसार गर्ने सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध ओसारपसार मौलाउँदै गएको छ । भन्सार नाकामा गरिएको कडाइले ठूला तस्करलाई भने मालामाल नै भएको छ ।अहिले आइसिपीबाट भोगी , पिन्टु , भुडे ( खसी ) , कल्लु र मुन्ना ( कवाडी ) र बसुउद्दीन ( कुखुरा ) को तस्करीको लाइन खुलेयाम चलिरहेको छ । व्यापक तस्करी चलेको कारण नै भन्सारले लक्ष्य अनुसारको राजश्व संकलन उठाउन सकिरहेको छैन । जसको असर देशको प्रत्यक्ष राजश्व प्रशासनमा देखिएको छ। यहाँको गुल्मबाट हवल्दार नन्द बुढा र सहायक हवल्दार जे के ओली घुमुवाको रूपमा परिचालन गरिएको छ । तस्कर र व्यापारीहरूलाई यिनै घुमुवाहरूले भेट्ने गर्दै आएका छन् । जिल्लाको खुला सीमा नाका बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर र सैनिक क्षेत्र तथा जमुनाहा, साईगाउँ, बेलबार, राप्तीपारिको नरैनापुर नाकाबाट ठुलो मात्रामा कुखुरा र चल्ला तस्करी हुने गरेको छ । सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध मानिएको भारतीय कुखुरा र चल्ला भित्रिने क्रम बढ्दै गएको छ । स्थानीयका अनुसार सामान्य घरायसी प्रयोजनका लागि साना सामान ल्याउने सर्वसाधारणले समेत जमुनाहा नाकामा सुरक्षाकर्मीको झमेला भोग्नुपरेको छ । तर, अर्कोतर्फ, सहायक नाकाबाट भने चिनी, टायल, इलेक्ट्रोनिक सामान, लत्ताकपडा लगायतका महँगा सामानहरू ठुलो मात्रामा तस्करी भइरहेको छ।चोरीपैठारी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार ठाउँमा चेकिङ हुन्छ । तर पनि तस्करीका सामान नेपालगन्ज भित्रिन्छन् । त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा स्टक गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिन्छ । 

निरीक्षक बिजय प्रताप सिंह त एक उदाहरण मात्रै हुन् उनी जस्ता दशकौ एक जिल्ला र ठाउँमा बस्ने अरू थुप्रै छन् र होलान । संगठनको नीति विपरीत यसरी बस्ने र नाजायज फाइदा लिनेहरूलाई डांडा कटाउने मात्रै होइन कि यिनीहरूको तस्करसँगको सम्बन्ध र असुली धन्दाको छानबिन गरेर कारबाही गर्नुपर्ने होइन ?

सम्बन्धित समाचार