ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाको ५ घरमा क्षति

4.7k Shares

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुंगा, माटो सहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार लगातर वर्षापछि माथिल्लो भागबाट आएको माटो, र ढुंगा सहितको पहिरोले पाङसिङको गाउँ बस्तीको बीचमा पसेर देबेन्द्र गुरुङको कुखुराको फर्मका ५० वटा कुखुरा बगाएर लगेको उहाँले बताउनुभयो । 

त्यस्तै पाङसिङका सर्किनी गुरुङको एक तले काठले बारेको टिनले छाएको कच्ची घरमा पानी, ढुंगा सहितको लेदोले घर पुर्णरुपमा  क्षति गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अर्का एक स्थानीय जुक बहादुर गुरुङको घरमा माटो सहितको  लेदोले १३ वटा कुखुरा बगाएको छ भने धन्डुक गुरुङको एक तले कच्ची घरमा क्षति पुर्‍याइ ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको स्थानिय बम बहादुर गुरुङले बताउनुभयो । 

५ घर परिवारको घर भित्र रहेको अन्नपात, कपडा र घरेलु सबै सामान बगाएर लगेका स्थानीय कमला  गुरुङले बताउनुभयो । ५ घरका मानिसहरु अहिले छिमेकी घरमा साहारा लिएर बसेका स्थानिय कमला गुरुङको भनाइ छ । 

घरमा क्षति भएको खबर सिर्दीबास प्रहरी चौकीमा पुगेपछि सिर्दिबासको प्रहरी टोली घट्नास्थल पुगी  मुचुल्का तयारी गरी १० औँ लाख क्षति भएको मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सम्बन्धित समाचार