जोमसोम-कागबेनी सडक भासियो, यातायात अवरुद्ध

6k Shares

म्याग्दी । अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।  

सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ । 

उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरेपनि फेरी माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो । 

उहाँका अनुसार जोमसोम देखि कागबेनीको विभिन्न ठाउँहरुमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसेर यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारीसाधनहरु जोमसोममा रोकिएको उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार