काटेर सुकाएकै ठाउँमा भिज्यो धान

9.7k Shares

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर झुलिसकेको छ । गत असारमा लगाएको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाएपछि जिल्लाभरका किसान चिन्तित देखिएका छन् ।

जेठ अन्तिम साता देखिनै रोपाइँ हुने दोलखाका बेँसीहरूमा यति बेला विभिन्न रैथाने तथा गैररैथाने जातको धान पाकिसकेको छ । कतिपय किसानले उन्नत जातको हाइवेर्ड धान काटेर भित्र्याएका छन् भने,धेरैजसो किसान तिहार लगत्तै धान काट्ने तयारीमा थिए ।

तर गत सोमबारदेखि मौसममा आएको परिवर्तनले जिल्लाका किसानले धान काट्न सकिरहेका छैनन् । जिल्लामा यस वर्ष दुई हजार नौ सय १४ हेक्टर क्षेत्रमा धान रोपाइ भएकोमा हालसम्म करिब ३० प्रतिशत खेतमा मात्रै धान काटेर सकिएको पाइएको छ ।

किसानले दुई दिन अघि काटेको धानसमेत वर्षाद र  धुम्म मौसमको कारण भित्र्याउन पाएका छैनन् । मंगलबार बिहानदेखि परेको सामान्य वर्षाले धान भिजाएपछि किसानले खेतका आलिमै धानको निहिन छाडेका हुन् ।

जिल्लाको वैतेश्वर-३ मजुवा बेँसीका दर्जनौँ किसानले अहिले काटेको धानलाई वर्षाबाट जोगाउन एकैठाउँमा थुपारेर पालले छोपेर राखेका छन् ।

त्यसैगरी खेतमा पाकेर पहेँलपुर भएको धानबालीलाई आकाशमा बादल लाग्ने र पानी पर्ने क्रम चलिरहेकाले कतिबेला काट्ने भन्ने चिन्ताले अहिले वैतेश्वर-६ का कुमार तामाङलाई पनि सताइरहेको छ । यहाँको वैंती बेँसीमा विगत २ दिनदेखि काटेको धान खेतका आलिमै रोकिएर बसेको देखिन्छ ।

मौसमविद्ले तत्काल धान काट्न तथा नकुट्न किसानहरूलाई दिएको मौसम जानकारी अनुसार आफूहरू अन्योलमा परेर काटेको धान पनि भित्र्याउन नसकेको स्थानीय रामबहादुर राउतले बताए । 

तामाकोशी-१ भिरकोट तल्लो बेँसीमा पनि पानी परेरे धान भिजेको स्थानीय लक्ष्मन केसीले बताए । दर्जनौँ किसानले धान काटेर सुकाइरहेको निहिनमै पानी परेपछि धान भिजेको हो । जिल्लाका ९ वटै स्थानीय तहका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ ।

मुख्यगरि भिमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी, कालिञ्चाेक र वैतेश्वर गाउँपालिकामा धेरै धान खेती हुने गरेको छ । भने गौरीशंकर, शैलुङ गौरीशंकर लगायतका क्षेत्रमा पनि धान खेती हुँदै आएको छ ।

समग्रमा गत वर्ष जिल्लाभर य ७ हजार ९ सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सम्बन्धित समाचार