काठमाण्डौ – काठमाण्डौको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउनेको भीड लागेको छ । आज विहानैदेखि खुला गरिएको यो मन्दिरमा दिदीबहिनी नहुनेहरुले भाइटीका लगाउनका निम्ति पुगेका छन् ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने गर्छ । आज मन्दिरमा दिदीबहिनी एवम् दाजुभाई नहुनेहरुले पूजा, दर्शन गरी टीका लगाउने क्रम जारी रहेको छ । यो मन्दिर आज दिनभर नै खुला हुन्छ । भाइटीकाको शुभ साइत आज बिहान ११ बजेर ३९ मिनेटमा भएपनि बालगोपालेश्वर मन्दिर भने आज बिहानैदेखि आम नागरिकका लागि खोलिएको थियो ।
यस्तै, काठमाण्डौको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने क्रम चलिरहेको छ । तिहारको मुख्य दिन अर्थात् भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् ।