काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताउनुभएको छ । आज बिहान आफ्नै निवास परिसरमा पत्रकारसँगको कुराकानीमा उहाँले आफू डराएर नभागेको बताउनुभएको छ । जेन–जी आन्दोलनलगत्तै देश छोडेका उहाँले आफू त्यसबेला तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै रहेको जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘आन्दोलन र घरमा तोडफोडपछि श्रीमतीलाई ट्रमाजस्तो भयो । त्यसैले केही दिन बाहिर निस्कनुपर्याे भनेर तराई गयौं । त्यहाँ डेङ्गी भयो । त्यसपछि भारतको मेदान्त अस्पतालमा पुगेर उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु ।’
उहाँले अहिलेको सरकारका विषयमा टिका–टिप्पणी नगर्ने पनि बताउनुभएको छ ।