बाजुरा, असोज ९ गते । बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ । चैत वैशाखमा पाखो जमिनमा लगाएको धान यती बेलामा पाक्न थालेपछि उनीहरुलाई धान काट्ने चटारो परेको हो ।
असोजको पहिलो सातादेखि यहाँ राती राती पानी पर्ने गरेकोले त्यो पानीले बारीमा रहेको धान सखाप पारी दिन्छ की भन्ने डरेले यतीबेला हामीलाई त्यो धान काट्न निकै हतार भएको बुढीनन्दा नगरपालिका–९ का स्थानीय महिला जनपुरा बिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यता बारीमा धान पाकेर झुरीमुरी भएको छ । उता घरको आगनमा दशैको आगमन हुँदैछ । त्यो दसैँ अगावै यो धान काटेर सक्नु पर्ने भएकोले यहाँका महिला बिहान दिउँसो बारीमै व्यवस्थ हुने गरेका छन् ।”
महिलाहरुलाई धान काट्न चटारो छ भने यहाँका पुरुषलाई पनि हामीले काटेको त्यो धानलाई चुटेर घरमा भित्र्याउने चटारो परेको विकले बताउनुभयो ।
चैत वैशाख गरी यहाँ धान दुइ पटक धान खेती लगाउँने गर्दछन् । चैत वैशाखमा पाखो र असारमा खेत रोपाइँ गर्दछन् । चैत वैशाखमा लगाएको धान भदौ र असोजको दोस्रो हप्ता सम्म पाक्छ । भने असारमा रोपेको धान असोजको तेस्रो हप्ता देखि कात्तिक सम्म पाक्छ ।
यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका महिलालाई चैत र वैशाखमा लगाएको धान काट्न निकै चटारो परेको छ
बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेती योग्य छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । भने १.९ मे टन-हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जसिराम साहनी बताउनुभयो ।