काठमाण्डाै – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अब भौतिक पुनर्निर्माण मात्र नभई आर्थिक पुनरुत्थान पनि आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज काठमाण्डाैमा आयाेजना गरेकाे अर्थतन्त्र पुनरुत्थानको अबको बाटो विषयक कार्यक्रममा सीईओ ज्ञवालीले जेन–जी आन्दोलनपछिको अवस्थामा आर्थिक पुनरुत्थान आवश्यक रहेको बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ माध्यममार्फत रकम दिँदा सफल भएको बताउँदै उहाँले भूकम्पछि धेरै युवाको सहयोगजस्तै अब पनि आत्मबल बढाएर गरेर अघि बढ्नुमा जोड दिनुभयो ।
सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनुपर्ने बताउँदै सीईओ ज्ञवालीले युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको बताउनुभयो । जेन–जी आन्दोलनपछि केन्द्रीय सरकासँग बढी अपेक्षा गरिएको भए पनि प्रदेश र पालिकामार्फत धेरै विषयको समस्या समाधान गर्न सकिने उहाँले उल्लेख गर्नुभयाे ।
लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दलसहितका प्रतिनिधि हुने गरी अघि बढेको र अब त्यसमा थप छलफल गरेर टुङ्गाउनुपर्ने ज्ञवालीको भनाइ छ ।