हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

6.9k Shares

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् ।

मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर नजाने पक्षमा देखिएका छन् ।

शाक्यले बरू ऊर्जामन्त्री घिसिङले पहिलो निर्णयका रुपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने गरी जिम्मेवारी सम्हालेका थिए । ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका थिए ।

अब शाक्यले पनि मन्त्री घिसिङको निर्णयअनुसार डेडिकेटेड ट्रंक लाइनको अर्बौं बाँकी विद्युत वक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्न लागेका छन् ।

घिसिङको निर्णयअनुसार शाक्य बोर्ड बैठक डाक्ने तयारीमा रहेका छन् । उनले बोर्ड बैठक डाकेर वक्यौता उठाउने मन्त्रीको निर्णयलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।

केही दिनमै बोर्ड बैठक बसेर वक्यौता उठाउन आवश्यक कदम चालिने बताए । शाक्यले सरकारको निर्णय मानेर जाने बताएका छन् ।

‘वक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णयलाई कार्यानवयन गर्छौं । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौँ’ , उनले भने, ‘बोर्ड अध्यक्ष मन्त्रीज्यू नै रहेकाले कार्यान्वयन अघि बढ्नेछ ।’

उक्त बैठकबाट निर्णय गरेपछि वक्यौता उठाउन समस्या नहुने उनले बताए । यसअघि कुलमान विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला वक्यौता उठाउने नाममा उद्योगीको लाइन काटिरहेका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए ।

उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बाँकी छ।

उद्योगीलाई लोडसेडिङ हुँदा पनि २४ घण्टा नै विद्युत आपूर्ति गरिएको थियो । प्रयोग नगरेको बिजुलीको पनि बिल आएको भन्दै उनीहरूले पैसा तिर्न मानेका थिएनन् । ओली सरकारका ऊर्जामन्त्री दीपक खड्का उद्योगीको पक्षमा उभिएका थिए ।

सम्बन्धित समाचार