सिन्धुलीमाढी, भदौ २२ गते । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएका ‘शहिद स्मृती पार्क’ संरक्षणविहीन बन्दै गएकाे छ ।
जनआन्दोलन, माओवादी ‘जनयुद्ध’ र पञ्चायत विरुद्धको आन्दोलनमा राज्य पक्ष र तत्कालिन बिद्रोही पक्षबाट मरिएर राज्यले शहिद घोषणा गरेका व्यक्तिको सम्मानमा निर्माण गरिएका सहिद स्मृती पार्क संरक्षणको अभावमा गौचरणमा समेत परिणत हुन थालेको हो । निर्माण गरिएका उक्त पार्कमा नेपाल सरकारले शहिद घोषणा गरी गृह मन्त्रालयमा सूचिकृत व्यक्तिहरुको अद्र्धकदको शालिक राखिएको स्थानीयले बताएका छन् ।
बागमती प्रदेश सरकारको लाखौ रुपिया सहयोगमा गत आर्थिक वर्ष ०८१-०८२ मा निर्माण गरिएका सहिद स्मृती पार्क एक वर्ष पनि बित्न नपाउँदै उचित घेराबेरा र व्यवस्थित नहुँदा संरक्षणविहीन बन्दै गएका छन् । जिल्लाका विभिन्न ठाँउमा हाल निर्माण भइरहेका सहिद स्मृती पार्कहरु अलपत्र र बेवारिसे बन्दै जाँदा राज्यको लगानी अनावश्यक ठाँउमा भएको आशंका जिल्लाबासीमा पैदा हुँदै गएको पाइन्छ ।
बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०८१-०८२ मा २५ लाख रुपिया खर्चेर मरिण गाँउपालिका–७ मा निर्माण गरेको शहिद स्मृती पार्क यतिखेर स्थानीय किसानका लागि गौचरण बनेको छ । उक्त पार्क खुल्ला चौरमा निर्माण गरिएको र त्यहाँ राखिएका करिब डेढ दर्जन सहिदको शालिक सुरक्षाका लागि पूर्ण रुपमा कम्पाउण्ड वाल तथा घेराबेरा निर्माण नभएको स्थानीय जितबहादुर तामाङ् बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘शालिक राखिएको ठाँउमा झारै झार उम्रेको छ । त्यहीबाट मोटरबाटो गएको छ । सुरक्षा केही छैन, अव्यवस्थित छ ।’
मरिण गाँउपालिकाका अध्यक्ष बिमर्श मोक्तान पनि उक्त पार्क घेराबेरा नहुँदा गौचरण बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पार्कलाई संरक्षण गर्नका लागि गत वर्ष पालिकाले ४० लाख रुपियाँमा कम्पाउण्ड बाल लगाउन सुरु गरेको छ । त्यो सकिएको छैन । क्रमसः काम गर्दै गई व्यवस्थित गर्ने योजना छ ।’ सोही ठाँउमा रहेको शहिद शेरमान कुँवर स्मृति प्रतिष्ठानको भवन पनि वेबारिसे अवस्थामा रहेको स्थानीय बताउँछन् ।
सुनकोसी गाँउपालिका–५ देउकी डाँडास्थित शहिद स्मृती पार्कको अवस्था पनि मरिणको जस्तै छ । त्यही पनि डेढ दर्जन जति शहिदको अद्र्धकदको शालिक राखेर पार्क निर्माण गरिएको भएपनि पार्क संरक्षणका लागि अन्य पूर्वाधार नबनेको वडा अध्यक्ष सुरथकुमार बसेलको गुनासो छ । उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा बागमती प्रदेस सरकारको १८ लाख रुपियाँ सहयोगमा १७ जना शहिदको मुर्ति राख्ने काम भयो, अरु काम केही भएको छैन ।’
पार्क घेराबेराका लागि गाँउपालिकाले यो वर्षका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा कमलामाई नगरपालिका–४ स्थित ठूलीचौरी, तीनपाटन गाँउपालिका–४ मझुवादोभान, गोलन्जोर गाँउपालिका–६ देउरालीटार, घ्याङ्लेख गाँउपालिका–१ सिम्लेखोला, दुधौली नगरपालिका–१० स्थित लभडाँडामा सहिद स्मृती पार्क निर्माण सुरु गरिएको छ ।
कमलमाई नगरपालिका–४ ठूलीचौरीमा गत आर्थिक बर्षबाट निर्माण सुरु गरिएको शहिद स्मृती पार्क बजेट अभावमा बीचमा नै अलपत्र परेको स्थानीय बासिन्दा बताउँछन् । उक्त स्मृती पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रेशमबहादुर पोख्रेल गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट बिनियोजन गरेकोले निर्माण सुरु गरेको र यो बर्षका लागि कतैबाट बजेट बिनियोजन नभएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘उक्त बजेटबाट डिपिआर बनाउने, चौरी सम्याउने, शालिक राख्ने ठाँउ निर्माण, प्रतिक्षालय, नाला निर्माण लगायतका संरचना बनाउने काम भएको छ ।’
बागमती प्रदेश सांसद तथा पूर्व मन्त्री गंगानारायण श्रेष्ठ सहिद स्मृती पार्क गत बर्षदेखि निर्माण सुरु भएको र बाँकी अधुरा काम बजेट विनियोजन गरी क्रमसः पूरा गर्दै जानु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपयले यि माओवादीले जनयुद्धमा मारेकाहरुलाई मात्र गर्ने भन्ने पूर्वाग्रह ढङ्गले हेरेको देख्छु । त्यो खालको होइन । शाहादात प्राप्त गरेका, नेपाल सरकारले सहिदको सूचीमा सूचिकरण गरेका सहिदहरुको सम्मानमा शान्ति पार्क बनाएको हो ।’