काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता बासुशरण कोइरालाको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै कोइरालाको मंगलबार बिहान निधन भएको जनाएको छ ।
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिका साथै पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका ९३ वर्षीय कोइराला २०१२ सालदेखि कांग्रेसमा लागेका थिए ।
कोइराला २०१५ सालको निर्वाचन, सुवर्ण शमशेरको नेतृत्वको २०१८ को तथा बीपी कोइरालाको आह्वानको २०३०–३२ को सशस्त्र सङ्घर्ष एवं २०४२ को सत्याग्रहमा सहभागी भएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
किसान आन्दोलनहरूको नेतृत्व गरेका कोइराला कांग्रेस भ्रातृ संस्था नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्षसमेत बनेका थिए ।
काठमाडौँ र सर्लाहीमा “नवजीवन विद्याश्रम” नामक विद्यालय स्थापना र सञ्चालन गरी निःशुल्क पठन–पाठनको व्यवस्था गरेका कोइरालाले सर्लाहीको जुटपानीस्थित आफ्नै निवासस्थानमा वृद्धाश्रम स्थापना गरी वृद्ध–वृद्धाहरूको सेवा पनि गरेका थिए ।
उनले आफ्नो पार्थिव शरीर पनि बी.पी. कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीहरूको सहयोगार्थ दान दिने घोषणा गरेका थिए ।
उनका श्रीमती मन्जु कोइराला, छोरीहरू– मीनु र रेबिका र छोरा नीरज छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।