सोरु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

10.2k Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सबइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाईविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यसै गरी आयोगले सडक अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य पुने शाही, गाउँपालिका वडा–१ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीलाई प्रतिवादी बनाएको छ । आर्थिक वर्ष २०७७–०७८ मा गाउँपालिका–१ स्थित पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
आ.व. २०७७–०७८ मा सोरु गाउँपालिका वडा नं.१ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गर्दा आयोगले भ्रष्टाचार गरेको तथ्य पत्ता लागेको हो ।
आर्थिक वर्ष २०७७–०७८ को मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार रुपियाँ र योजना सम्झौताबमोजिम जन श्रमदान ३ लाख ७३ हजार ४ सय ३९ रुपियाँ ४४ पैसा गरी उक्त सडक निर्माण योजनाको कुल लागत अनुमान ४० लाख १३ हजार ४ सय ३९ पैसा ४४ रुपियाँ रहेको छ ।
सो रकममा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई कार्यदेश दिएकोमा उक्त सडक निर्माण गर्दा लागत अनुमान अनुसार कार्य नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको थियो । थप ७ लाख ६ हजार ७ सय ९९ रुपियाँ बढी लिएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार