‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट सम्पन्न

6.3k Shares

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनको समुद्घाटन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल युगमा युवा नै परिवर्तनका मुख्य शक्ति भएको र विश्वभर छरिएर रहेका नेपाली युवालाई एकै डिजिटल प्लेटफर्ममा जोड्नु ऐतिहासिक कार्य रहेको बताएका छन् । 

प्रविधि र नवप्रवर्तनमार्फत नेपालको समृद्धि हासिल गर्ने अभियानमा युवाको योगदान निर्णायक हुने र त्यसको लागि सरकारले पनि पहलकदमी लिने अठोट व्यक्त गरेका छन् ।

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवालाई प्रविधिमा सक्षम बनाउन सरकारले नीतिगत तथा संरचनागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले नेपालको डिजिटल रूपान्तरणलाई सफल बनाउन युवा पुस्ताको सक्रियता अत्यावश्यक भएको र यस अभियानलाई समर्थन र सफल बनाउन सरकारले आवश्यक कानुनी,नीतिगत र पूर्वाधारगत पहल गर्ने कुरामा जोड दिएका छन् ।

एक करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको सम्मेलनमा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी लगायतका प्रतिष्ठित वक्ताहरूले आफ्नो भनाइ तथा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे गहन छलफल भएको थियो। साथै, विश्वभर रहेका नेपाली युवाले प्रविधि र नवप्रवर्तनमा आधारित आफ्ना सफलताका कथाहरू पनि प्रस्तुत गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले यो सम्मेलन केवल भर्चुअल कार्यक्रम मात्र नभएर यो विश्वव्यापी युवाको साझा आन्दोलन भएको र यसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउने मा जोड दिएका थिए । 

राष्ट्रिय युवा संघ नेपालले युवा पुस्तालाई प्रोत्साहन र ऊर्जा प्रदान गर्ने उद्देश्यले आफ्नो क्यालेन्डर नै बनाएर विभिन्न उद्यमशीलतामा युवाहरूलाई समाहित र सहभागिता गराउँदै लैजाने पनि अध्यक्ष थेबेले बताएका छन् । 

युवा संघले गत वर्ष पनि अन्तर्राष्ट्रिय एआई कन्फ्रेन्स भव्य कार्यक्रमबीच सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचार