थारु संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १२ करोड बजेट

8.5k Shares

दाङ, साउन २७ गते । थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा व्यावसायिकरणका लागि संघीय र लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०८२-८३ मा संघीय सरकारबाट ६ करोड र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरिएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले जानकारी दिनुभयो ।

उक्त बजेट प्रदेश सरकारको सम्बन्धित मन्त्रालय, विभाग, डिभिजन तथा परिषदमार्फत कार्यान्वयन गरिनेछ। संघीय विशेष अनुदानअन्तर्गत प्राप्त बजेटले थारु समुदायको मौलिक संस्कृति संरक्षण तथा पर्यटनसँग जोडिएको व्यावसायिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक कुमार चौधरीले ढिलै भए पनि राज्यले थारु समुदायको मागलाई सम्बोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। “सरकारको यस निर्णयले सम्पूर्ण थारु समुदायलाई गौरवान्वित बनाएको छ,” उहाँले भन्नुभयो।

उक्त कार्यक्रमले थारु समुदायको कला, संस्कृति, परम्परा र पहिचानको दिगो संरक्षणसँगै रोजगारी र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार