कैलाली कारागारमा ज्यान गुमाएका चौधरीको शव परिवारले बुझ्यो

8.1k Shares

काठमाण्ठौ – गएको शुक्रवार कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी ज्यान गुमाएका ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् ।

प्रमुख जिल्ला अधिकारीबाट ज्यान गुमाएकाको परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि हिजो परिवारले शव उठाएका जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।

ज्यान गुमाएकाको बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि सहमति भएको हो ।

दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित ज्यान गुमाएका चौधरीका परिवारले हिजो बिहानसम्म शव बुझ्न मानेका थिएनन् ।

सुदूरपश्चिम प्रदेश सरकारले अस्ति बेलुकी ज्यान गुमाएका चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

कैदीबन्दीबीच बन्दीगृहमा गएको शुक्रवार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा ज्यान गएको थियो ।

घटनामा घाइते भएका अरु ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाण्डौमा उपचार भइरहेको छ । धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि हिजो काठमाण्डौ सिफारिश गरिएको कारागार शाखाका जालान्दर भुसालले जानकारी दिनुभयो ।

घटनापछि कारागार व्यवस्था विभागले भुसाललाई केही समयका लागि दुई दिनअघि कैलाली कारागारमा खटाएको छ ।

यसैबीच क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको छ ।

गएको आइतवार बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागार भित्र हेलोजन लाईट, सीसी क्यामरा जडान, कारागारको छाना लगायत आवश्यक मर्मत तत्काल शुरू गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन–तीन महिनामा अदलीबदली गर्ने, कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई पहल गर्ने, क्षमता अनुसार कैदीबन्दी व्यवस्था गर्न कारागार व्यवस्थापन विभागसँग समन्वय गर्ने, कारागार भित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी सुविधासम्पन्न र खुला कारागारको पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने बैठकले निर्णय गरको छ ।

कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श दिने साथै र पुस्तक उपलव्ध गराउने जस्ता निर्णय मुख्यमन्त्री कमल वहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले गरेको छ ।

घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

कारागारको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यलय कैलालीले जनाएको छ । 

सम्बन्धित समाचार