३० औं पटकमा एसइई पास गरेका ५६ वर्षीय चौधरी कक्षा १२ उत्तीर्ण

8.1k Shares

धनगढी, साउन २२ गते । लगातार कोसिस र लामो प्रतीक्षापश्चात् माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका कैलालीका ५६ वर्षीय भागीराम चौधरीले यस वर्ष कक्षा १२ पनि उत्तीर्ण गर्नुभएको छ ।

२०७९ सालमा ३० औं पटकको प्रयासमा एसइई उत्तीर्ण गर्नुभएका उहाँले आफू कार्यरत कैलारी गाउँपालिका–६ गदरियास्थित जनता माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको हो । चौधरी सो विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनुभएको छ । उहाँले आफू काम गरिरहेकै विद्यालयबाट एसइई पनि उत्तीर्ण गर्नुभएको थियो ।

मिहिनेती चौधरीले कक्षा १२ उत्तीर्ण गरेर विद्यालय परिवारलाई खुशी बनाएको शिक्षक यामु शर्माले बताउनुभयो । उहाँले चौधरी सबैका लागि प्रेरणाका स्रोत रहेको उल्लेख गर्नुभयो ।

कक्षा १२ पास भएपछि खुशी हुनुभएका चौधरीले समयले साथ दिएमा स्नातक अध्ययन गर्ने बताउनुभयो । त्यसको तयारीमा लाग्ने उहाँको भनाइ छ । चौधरी २०५२ सालदेखि जनता माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुुहुन्छ । उहाँले २०४८ सालदेखि हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिन सुरु गर्नुभएको थियो । लामो समयसम्म सफलता हात नलागे पनि उहाँले हार मान्नुभएको थिएन । फलस्वरुप, २०७९ मा २ जिपिए ल्याएर एसइई उत्तीर्ण गर्नुभएको थियो । 

सम्बन्धित समाचार