खीर खाएर मनाइयो साउन १५

7.5k Shares

काठमाडौं– नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ । 

वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । 

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । 

हाम्रो संस्कृति , हाम्रो परम्परा भन्दै राष्ट्रिय खिर दिवसका अवसरमा खिर आयोजक समितिले काठमाडौंको अनामनगरमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले साउन १५ मा खीर खाने संस्कृति मानवस्वास्थ्यसँग जोडिएको बताए ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । 

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । 

सम्बन्धित समाचार