कागती बिक्री नहुँदा किसान समस्यामा

6.2k Shares

घोराही– यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् । 

भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।

पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौंबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । ८० रुपैयाँका दरले पठाएको उनी बताउँछन् । 

आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’

सम्बन्धित समाचार