३६ लाख लिएर दुई करोड असुली, बैंकका दुई कर्मचारीसहित चार जनाविरद्ध मुद्दा

4.6k Shares

नवलपुर, साउन १२ गते । मिटरब्याजको आरोपमा २४ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटेका नवलपुरको कावासोती नगरपालिका–२ इन्द्रचोकका ३९ वर्षीय अमृत भुसालसहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ ।

कावासोतीमा रहेको होण्डा शो रुमका सञ्चालकसमेत रहेका भुसाल, भुसालकी श्रीमती सविता काफ्ले, प्रमु बैंक (साविक सेन्चुरी विकास बैंक) चोरमारा शाखाका प्रमुख राजेश खरेल र लक्ष्मी सनराइज बैंक, चितवनमा कार्यरत सविता अर्यालविरुद्ध मिटरब्याज, हस्ताक्षर किर्ते, जालसाजी र ठगीको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

चारैजना माथिको पूरक अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएसँगै मुद्दा दायर भएको हो । मुद्दा दर्तासँगै भुसाल, खरेल र अर्याललाई मध्यबिन्दु नगरपालिका–७ का रामप्रसाद महतोको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

बैंकका कर्मचारीहरु खरेल र अर्यालले चेकमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्न भुसाललाई सहयोग गरेको अभियोग लगाइएको छ । किर्ते र ठगी मुद्दामा भुसालकी श्रीमती सविता काफ्लेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको र काफ्लेलाई पक्राउ गर्न नसकिएको ढकालले बताउनुभयो ।

भुसालले मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाललाई गत साउन २७ गते पक्राउ गरिएको थियो । नवलपुर जिल्ला अदालतले २४ दिनपछि भुसालका बारेमा थप अनुसन्धान गर्नु पर्ने भन्दै हाजिरी जमानीमा छोडेको थियो । पछि प्रहरीले प्रतिवेदन बुझाउँदा पूरक अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रहरीको प्रतिवेदन बुझ्न मानेको थिएन ।

गत साउन २७ गते गोरखापत्रले ‘रोकिएन मिटरब्याजको शोषण, ३६ लाख दिएर दुई करोड असुली’ शीर्षकमा समाचार छापेको थियो । त्यसपछि प्रहरी निरन्तर प्रमाणहरु सङ्कलनमा जुटेको थियो । झण्डै एक वर्ष लगाएर पुरक अनुसन्धान गरी थप प्रमाणसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

सम्बन्धित समाचार