निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

8.2k Shares

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
 
नेपाली ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका हुन् ।

प्रहरी टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त कार मंगलबार बिहान प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए । प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको ।

डिएसपी कार्कीका अनुसार उनी उखुबारी हुँदै भागेको आशंकापछि चारैतिरबाट घेरा हालेर सर्च गर्दा समेत भेटिएनन् । बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको उनले बताए ।  बरामद गरिएको कारको माध्यमले गाँजाको वास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ ।

सम्बन्धित समाचार