काठमाडाैँ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार सम्भावित ठुलो दुर्घटना टरेको छ ।
कोच्चीबाट मुम्बई आएको एयर इन्डियाको विमान अवतरणका क्रममा चिप्लिएर रनवेबाट बाहिर पुगेको हो । यस क्रममा विमानको तीन वटा टायर पड्किनुका साथै इन्जिनमा समेत क्षति भएको छ ।
रनवेबाट बाहिर पुगिसकेको विमानलाई पाइलटले फेरि रनवेमै ल्याएका थिए । त्यसपछि विमानलाई यात्री ओराल्ने ठाउँसम्म लगिएको थियो ।
विमानमा सवार यात्री र चालक दलका सदस्य भने सुरक्षित छन् । उक्त विमान ‘ग्राउण्डेड’ भएको छ । विमानको प्राविधिक जाँच परी आवश्यक ममर्त गरिने जनाइएको छ ।
तीन वटा टायर फुटेर केहीवेर उक्त विमान रनवेमा घिस्रिएका कारण रनवेमा समेत क्षति पुगेको बताइएको छ । तत्कालका लागि उक्त विमानस्थलको वैकल्पिक रनवेलाई सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन् ।