काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारी भोलि संगठनको नेतृत्वमा पुग्ने दावेदार मध्येका एक हुन् । उनलाई भीम रावल उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको बेलामा तलबाट माथि तानेका थिए । नत्र उनी अलि तल नै थिए । तर उनी बिबादमा नपरेका प्रहरी अधिकृतको रूपमा नै चिनिन्छन् । तर काठमाडौं प्रहरीको नेतृत्व सम्हाले पछि उनी त्यति सफल भएको भने देखिदैन । तिनकुने घटना देखि यस्ता थुप्रै घटना छन जहाँ उनी चुकेको देखिन्छ । त्यतिमात्र होइन अहिले जस्तो परिसरको घुमुवा टोलीको असुली र उठन्ती यसअघि सायदै थियो । परिसरको घुमुवा टोलीले जुवा अखडाबाट महिनावारी लिने गरेका घटना सार्वजनिक भैरहेका छन् । बर्षाे बर्ष देखि परिसरमा बसेका घुमुवाहरूलाई उनले घटाउन सकेका त छैनन् नै घुमुवाबाट हटाएर युनिर्फममा डियुटी लगाउन समेत सकेका छैनन् । जबसम्म बर्षाै बर्ष देखि बसेका घुमुवा घट्दैनन् र लखेटिदैनन् तबसम्म यिनीहरूको असुली रोकिदैन । अहिले उपत्यका प्रहरी कार्यालयले प्रभाग र वृत्तमा दुई बर्ष बढी बसेका घुमुवाहरूलाई सरूवा त गर्याे तर परिसरमा लगिएकाहरू फेरि त्याहां गएर घुमुवाको रूपमा नै परिचालन गरिएका छन् ।
महाराजगन्ज , नयाँ बसपार्कबाट परिसरमा तानिएका घुमुवाहरू अहिले पनि ६ बजेपछि नयाँ बसपार्कका गुण्डा देखि क्याफे र होटलहरूमा भेटिने गर्छन् । राति १२÷ १ बजेसम्म यतै गुण्डा र दलालहरूसंग हिडिरहेका हुन्छन् । जबसम्म सुचना लिने र सकेसम्म नचिनिने गरेर हिड्नुपर्ने प्रहरी नै गुण्डा र दलालहरूसंग हुन्छन् अनि अपराध नियन्त्रण र अपराधी कसरी पक्राउ पर्छ । अर्को प्रसंग हो क्यासिनोको । सोल्टी होटलमा संचालित माजोङ क्यासिनोमा खुलेयाम नेपालीहरू प्रवेश गरेर जुवा खेलिरहेका छन् । भारतीय नागरिक भएको नक्कली कार्डको भरमा क्यासिनोमा नेपालीहरू खुलेयाम माजोङ प्रवेश गरेर जुवा खेलिरहेका छन् । यस्तो लाग्छ कि माजोङमा प्रहरीको सेटिङ र संरक्षण छ , त्यसकारण पनि जति नेपाली प्रवेश गरेर जुवा खेलेपनि यहाँ प्रहरीले छापा हान्दैन र छुट दिन्छ । माजोङमा जुवा खेल्ने झण्डै पचास प्रतिशत जुवाडे नेपाली नै रहेका हुन्छन् । माजोङमा सुरक्षा हेर्ने प्रमुख व्यक्ति भोजराज खतिवडा छन् । उनी नेपाल प्रहरीका पूर्व डिएसपी हुन् । पूर्व डिएसपी भएको कारण पनि उनको कालिमाटी प्रहरी वृत्त देखि काठमाडौं परिसर र अपराध महाशाखा हुदै उपत्यका प्रहरी कार्यालय सम्म चिनजान र पहुँच हुनु स्वाभाविकै हो । त्यसैले पनि प्रहरीले माजोङमा नेपाली प्रवेश गरेको थाहा भएर पनि छापा नहानेको हो कि ?
माजोङ क्यासिनोका मालिक बिनोद श्रेष्ठ नेपाली प्रवेश गराएर जुवा खेलाएको अभियोगमा पक्राउ समेत परेर झण्डै एक साता प्रहरी परिसरको थुनामा समेत परेका थिए । विश्व पोखरेल काठमाडौंको प्रहरी प्रमुख भएको समयमा उनी पक्राउ परेका थिए । कानुनले क्यासिनोमा प्रवेश गरेर जुवा खेल्न नेपालीलाई निषेध गरेको छ । यो क्यासिनोमा पनि प्रहरीका घुमुवा आउने , खाने देखि रक्सीका बोतलहरू लिएर जाने गर्दछन्।