बुटवल, १४ मंसिर । रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष २०२१-२२ का लागि चारवटा परियोजनाको काम अगाडि बढाएको हो । जसमा क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् ।
रोटरी क्लब अफ बुटवलको २९औं चार्टर्ड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिएको हो । जसअन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । “यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदैछ”, उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरूलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।