काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव पदका लागि खुला गरेको आवदेनमा डेढ दर्जन भन्दा बढीको आवेदन परेको छ । मन्त्रालयले मंसिर ४ गते खुला गरेको आवदेन आज अन्तिम दिन हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेपमा सदस्यसचिवको पद रिक्त छ । सिलवालले दिएको स्पष्टिकरण चित्त बुझ्नो नभएको भन्दै सरकारले उनलाई बर्खास्त गरेको थियो । मन्त्रालयले सहसचिव विष्णुराज ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएर पठाएको थियो ।
सदस्यसचिव पदमा आवेदन दिनेमा नेपालका लागि चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक विजेता दीपक विष्ट, नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकार, नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्की,नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, टंकलाल घिसिङ, भरत महर्जन, ममता श्रेष्ठ, आरेक विष्ट, अच्युतम लामिछाने लगायतले आवेदन दिएको बुझिएको छन् ।
खेलकुद मन्त्री मशेश्वरजंग गहतराजले सदस्य सचिव सिफारिसका लागि मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थियो । समितिले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नेछन् । सिफारिस भएका व्यक्तिमध्येबाट एक उपयुक्त व्यक्तिलाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्ने प्रावधान छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्य सचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ । सदस्य सचिवका लागि योग्यता र अनुभवको पाँच बुदा तय छन् । जसमा नेपाली नागरिक हुने पर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।