सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ छ : मन्त्री यादव

8k Shares

बिराटनगर (मोरङ), २८ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताउनु भएको छ ।

आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो । मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ ।”

सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि संघीय सरकार, उपभोक्ता समिति, स्थानीय तह र नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

WhatsApp Image 2025-06-11 at 12.54.28_2db4165e.jpgसबैलाई “स्वच्छ पानी, समुन्नत जीवन” को यात्रामा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गर्नु हुँदै उहाँले भन्नुभयो, “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ । हाम्रो उदेश्य भनेको जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो ।”

कम्तीमा १८ वर्षदेखिको प्रतीक्षा सकिएको उल्लेख गर्नु हुँदै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

स्थानीय नेतृत्व, जनसहभागिता र दीर्घकालीन प्रतिबद्धताको सशक्त प्रतिफलस्वरूप, आज यो आयोजना औपचारिक रूपमा खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।”

यस आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले बताउनुभयो ।

WhatsApp Image 2025-06-11 at 12.54.28_e89ec11c.jpgउहाँका अनुसार अबदेखि बिराटनगर महानगरपालिका–१४ का बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा नेपाल खानेपानी संस्थान, बिराटनगरमार्फत संस्थागत ढङ्गले उपलब्ध गराइनेछ, भने यहाँको जनजीवनमा समेत गुणस्तरीय सुधार ल्याउनेछ भन्ने अपेक्षा छ ।

यो आयोजनाको निर्माण तथा सञ्चलनका निम्ती जग्गा उपलब्ध गराउन लक्ष्मीनारायण मन्दिर संरक्षण समिति, जतुवाले बिसं २०६५ साल जेठ ६ गते निर्णय गरेको थियो ।

यो आयोजना बिराटनगर–१४ का बासिन्दाहरूका लागि मात्र सीमित नरही, छेउका वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका नागरिकहरूका लागि पनि गुणस्तरीय खानेपानी सेवा विस्तारको सम्भावना बोकेको महत्वपूर्ण पूर्वाधार भएको संस्थानले जनाएको छ ।

सम्बन्धित समाचार