काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी गरेको छ ।
मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न लागिएको हो । धितोपत्र बोर्ड मात्र नभएर मन्त्रालयले नेपाल स्टक एक्सचेन्जसहितको आवेदन पुनः नयाँ खुला गर्ने तयारीमा रहेको छ ।
धितोपत्र बोर्डका लागि अध्यक्षमा आवेदन दिएका एक उम्मेदवारले बोर्डको ऐनविपरीत छनोट समिति गठन गरिएको बताए । उनी भन्छन्, ‘छनोट समितिमा योजना आयोगका उपाध्यक्षलाई नै राखिएको थियो, जुन अहिलेसम्म कहिल्यै राखिएको थिएन, शंकाको घेरा र प्रश्नको मूल कारण यही हो ।’
नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ दफा ७ को उपदफा ३ अनुसार बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ हुनुपर्ने उल्लेख छ ।
हालको छनोट समितिमा योजना आयोगको सम्बन्धित निकाय हेर्नेमा रामकुमार फुँयाल थिए । स्रोतका अनुसार सुरुमा उनकै नेतृत्वमा नियुक्तसमेत गरिएको थियो । तर, अन्त्यमा उनलाई नियुक्त गरिएको पत्रसमेत नदिई निर्णय उल्ट्याएर उपाध्यक्षको नेतृत्वमा समिति बनेको थियो । विवादित समिति खारेज गरी मन्त्रिपरिषद्बाटै नयाँ समिति बनाउने अर्थ मन्त्रालयको तयारी छ । अर्थ मन्त्रालयले ११ कात्तिक ११ मा सूचना जारी गर्दै आवेदन खुला गरेको थियो । जसमा अध्यक्ष दाबेदारका लागि ११ जनाको आवेदन परेको थियो ।