मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह

7.6k Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदी मा गेग्रान हटाउने काम भइरहेको बताएका छन् । 

पूर्वाधार विकास समितिमा मङ्गलवार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाउँहरूमा अहिले काम भइरहेको बताए । वर्षातको पूर्व सन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्व तयारी गरिरहेको बताए । 

‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदीमा बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरूले जोड दिनुभएको छ । अधिकार सम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,’ उनले भने । 

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने पनि बताए । 

बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरी जलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदिबाट गेग्रान हटाउने काम भइरहेको छ ।  

समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भई परि आउने विपद्को लागि आवश्यक सतर्कता अपनाइएको बताए । उनले विपद् हेर्ने गरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरूमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए । 

सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुङ्गे पुलको निर्माण कार्य सकिएको बताए ।

सम्बन्धित समाचार