काठमाण्डाै – साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको बिहान साढे ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उहाँकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालमा शव राखिने सङ्गीतकार वसन्त मुकारुङले जानकारी दिनुभयो ।
भोजपुरको छिनामखुमा २००४ सालमा जन्मनुभएका रसिक प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रसिकका ओ याङ्जी नाना, नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर, धेरै सम्झे धेरै हुन्छ, रातो भाले क्वाँया क्वाँया लगायत कालजयी गीत छन् ।
यस्तै क्षितिजलाई छुन खोज्दा कथा सङ्ग्रह, रसिकका गीतहरू गीत सङ्ग्रहलगायत रसिकका प्रकाशित पुस्तहरू छन् ।