रेसुङ्गा, जेठ १६ गते । घर भाडामा बसेपछि जाँगर भएपछि रुरुक्षेत्र गाउँपालिका–१ एक्लेपिपलकी सीता कुमालका घर वरिपरी काँक्रा, घिरौला, करेला, सिमी र करेला फलेर लटरम्म छन् । उहाँलाई तरकारी बेचेरै वर्षभरि खान पुगेको छ । केही समय नजिकैको पैँचो पसलमा काम गरेकी कुमाललाई रुरु कृषि परियोजनाले विस्तारै व्यावसायीक उर्जा मिल्यो । अहिले घरभरि तरकारी रोप्नु भएको छ ।
उत्पादन टिपेर नजिकैको रिडी बजारमा पुराए नबिक्ला भन्ने डर पनि छैन । रुरुक्षेत्र गाउँपालिकाले बिउ, सीप, प्रविधीमा सहजीकरण गरेपछि व्यावसायीक तरकारी खेतीतर्फ उर्जा पलाएको कुमालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चार÷पाँच क्वीन्टल काँक्रा बेच्छु करेला र खुर्सानी हुँदैछ । बजारको समस्या छैन, तरकारी बेचेरै घरखर्च चलेको छ ।’’
व्यावसायीक कृषि कर्मका कारण कुमालसहितका समुहमा आवद्ध भएका दिदिबहिनीहरुलाई घर खर्चकै लागि श्रीमानको मुख ताकेर बस्नु पर्दैन । काठको काम गर्दै आउनु भएका श्रीमान बुद्धि कुमाल परदेशको तयारीमा रहेको मिनाले बताउनुभयो ।
एक्लेपिपलकै शारदा खनालपनि रुरु शिवालयमहिला स्वावलम्बन समूहकक सदस्य हुनुहुन्छ । उहाँले १४ सय खुर्सानी रोप्नु भएको छ भने सय बोट रेड लेडी जातको मेवा छन् ।
खुर्सानी फल्दै भए पनि करिव एक क्वीन्टल मेवा बिक्री गर्नुभएका खनालले सामूहिक तथा व्यक्तिगत रुपमा कृषि र पशुपालन व्यावसायबाट मनग्य आम्दानी गर्नुभएको छ । सोही गाउँकै देवि रेश्मी पनि व्यावसायीक तरकारीतर्फ आकर्षित हुनुहुन्छ । रेश्मीले भर्खरै ७० किलो काँक्रा बिक्री गर्नुभयो । घिरौला, लौका, बोडी र मेवालगायतका कृषि उपज बेचेर धेरै महिलाले आफ्नो खर्च धानेका छन् ।
रुरुक्षेत्र गाउँपालिकाले गत वर्षदेखि हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा रुरु कृषि परियोजना सञ्चालन गरेको छ । परियोजना नवप्रभात युवा संघमार्फत कार्यान्वयनमा रहेको छ । जसले महिलाहरुलाई एकीकृत बनाउँदै सामूहिक भावनाको विकाससँगै आर्थिक समृद्धिको बाटोे देखाउने काम गरिरहेको छ । परियोजनाका लागि रुरु क्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको गरेर कुल रकम तीन करोड ३३ लाख ३३ हजार ३३३ रुपियाँ बजेट विनियोजन भएको छ । परियोजनामा २१ सय घरधुरीका महिला तथा युवा र ३३ वटा स्वावलम्बी समूहमार्फत कार्यक्रम परिचालन गरिएको नवप्रभात युवा संघका कार्यकारी निर्देशक धातानन्द भुसालले जानकारी दिनुभयो ।
रुरु क्षेत्र गाउँपालिका माछा, तरकारी र बोकाको मासुमा आत्मनिर्भर हुने चरणमा रहेको छ । महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरणमार्फत कृषितथा पशुपालनबाट हुने आम्दानीलाई दोब्वर वृद्धि गरी जिवीकोपार्जनमा सुधार गर्ने आफुहरुको उद्देश्य रहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । गाउँपालिकाले मात्रै परियोजनाका लागि दुई करोड बढि रकम विनियोजन गरेकाले आत्मनिर्भर उन्मुख कृषि र पशुपालनमा थुप्रै काम भइरहेको बताउनुभयो ।
महिलाहरुमार्फत सामूहिक कृषि खेती र बाख्रापालन सञ्चालन गरेर आत्मनिर्भरसँगै आफैँ मालिक बन्ने अवस्थाको सृजना भएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । उहाँले परियोजनामा करिव २१ सय महिला दिदिबहिनीलाई आर्यआर्जन जोडिएकाले परियोजनाको सहयोगले उत्साह र सामाजिक तथा सामुहिक भावना अभिवृद्धि गराएको पाण्डेयले बताउनुभयो । उहाँले बोल्नै नसक्ने दिदिबहिनीहरु पनि आफना समस्या समूहमा राख्ने भएकाले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा टेवा पुगेको बताउनुभयो ।
रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेका अनुसार अहिलेसम्म बाख्रा पाल्ने कृषकलाई २२५ बाख्रा वितरण, २० वटा विउ बोका वितरण र बाख्रा उपहार गरिएको छ । बाख्राको खोर १२६ वटा निर्माण तथा सुधार गरिएको, दुग्ध प्रवर्धनअन्तर्गत ४१ वटा गाई वितरण गरिएको थियो । अहिले बम्घा सहकारीले दैनिक १४ सय लिटर दुध सहकारी मार्फत बिक्री गर्दै आएको छ । ४८ वटा भकारो सुधार, डेरी सञ्चालनको लागि १० वटा क्यान, ५०० लिटरको चिलिङ्ग भ्याट, एउटा डिजिटल मिल्क एनलाईजर र एक सेट सोलार वितरण गरिएको परियोजनाको कार्यक्रम संयोजक चालिसेले जानकारी दिनुभयो । उहाँले गाई र बाख्राको लागि उन्नत घाँस वितरण, स्रोत केन्द्र निर्माण, व्यवसायीक कृषकलाई करिव ५५० किलोग्राम तरकारीको बिउ पल, टनेल र प्रविधिसँगै ४० वटा टनेल निर्माण गरिएको बताउनुभयो ।
फलफुल प्रवर्धनअन्तर्गत माग बमोजिम सुन्तला, कागती, मेवालगायतका विरुवा वितरण गरिएकाले अहिले लिचि र आँपका बिरुवा वितरण गरिनेछ । त्यस्तै बगैंचा व्यवस्थापनका लागि सामग्री वितरण गरीएको, उँखु उत्पादनमा सहयोगको लागि विउ प्रविधि हस्तान्तरण गर्दै सङ्कलन प्रशोधन उद्योग स्थापना गरेर २६६ टन उखु प्रशोधन गरीएको परियोजनाले जनाएको छ । जसबाट गुड खुदो उत्पादन तथा गुडबा क्यान्डी बनाई बजारिकरण गरिएको परियोजनाका पशु प्राविधिक शशी भुसालले जानकारी दिनुभयो ।