पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा सडक अवरुद्ध, नागढुङ्गामा आज केही सहज

8.6k Shares

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा वैकल्पिक सडक बाढीले बगाएपछि यातायात ठप्प भएको छ । गएरातिको वर्षासँगैको बाढीले सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो ।

बर्दघाट बजार नजिकै खुर्सानी खोलामा पाँच दिनअघि बनाइएको वैकल्पिक सडक बाढीले बगाएको छ । यस्तै दुम्किबासको विनयी खोलामा पनि वैकल्पिक सडक बगाइदिएको छ । चोरामाराको फलामे पुल भाँच्चिएपछि बनाइएको अस्थायी सडक पनि बगाएको छ ।

सडक बन्द भएपछि गाडी र यात्रु चोरमारा र बर्दघाटमा रोकिएका छन् । सडक बनाउने काम भइरहेको र अबको केही घण्टाभित्र सडक खुलाउने गरी काम भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

यसैबीच काठमाण्डौको मुख्य नाका नागढुङ्गामा आज भने गाडी केही सहज रुपमा सञ्चालन भइरहेको छ । हिजो र अस्ति निकै चाप रहेको यो सडकमा आज भने त्यति चाप नरहेको खानीखोला प्रहरीले जनाएको छ ।

सुरुङमार्ग नजिक केही चाप रहे पनि हिजो, अस्तिजस्तो घण्टौं जाममा बस्नपर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म भने यो सडकखण्ड बन्द गरेर निर्माणको काम हुने गरेको छ ।

सम्बन्धित समाचार