गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री

9.3k Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् ।

गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल सुशी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।’

उनले भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।’

प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।

‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरू कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्र कालमा सडक कति किलोमिटर थियो ।’ उनले भने, ‘अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सवै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।’

उनले भने, ‘आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौँ लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ–  हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।’

सम्बन्धित समाचार