काठमाडौं । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै छ छुट’ भन्ने पशुपति शर्माको गीतलाई पुष्ट्याई यातायात कार्यालय एकान्तकुनाको पार्किङले गरेको छ ।
यातायात कार्यालय एकान्तकुनाका कर्मचारीको मिलोमत्तोमा तरकारी बजारसँगै रहेको पार्किङमा कुनै पनि सवारी साधन छिर्ने वित्तिकै एक सय रुपैयाँ लिने गरेको पाइएको छ । यातायात कर्मचारी र यातायात पार्किङ सेवा संचालकबीचको मिलोमत्तोमा सवारी साधन किनबेचको लागि इन्जिन नम्बर र च्यासिज नम्बर हेर्नको लागि सो पार्किङमा लानुपर्ने वाध्यता कर्मचारीहरुले गराएका छन् । सो पार्किङमा मात्र किनबेचको लागि सवारी साधनको कागजत, इन्जिन नम्बर र च्यासिज नम्बर हेर्न कर्मचारीहरु आउने भएका कारण वाध्य भएर सवारी मालिकहरुले सो पार्किङमा प्रति घन्टा एक सय रुपैयाँ तिरेर चेकजाँच गराउन वाध्य छन् ।
एक सवारी साधन मालिक अमृत महर्जनका अनुसार सो पार्किङमा पार्किङ गराए वापत प्रति घन्टा एक सय रुपैयाँ लाग्ने गर्छ, तर कर्मचारीहरुले सो पार्किङमा पार्किङ गराउनु भन्दै घन्टौंसम्म कुराएर पार्किङ शुल्क बढाउने कार्य गरेको महर्जनले गुनासो पोखेका छन् । महर्जनका अनुसार कर्मचारीकै कारण झण्डै ३ घन्टा बढी पार्किङ गर्नु परेको र चार सय रुपैयाँ पार्किङ वापत तिर्नुपरेको बताएका छन् ।
यसरी पार्किङ गराएवापत पार्किङ वालाले कुनै पनि सम्बन्धित निकायमा दर्ता गरेको छैन भने गाडी पार्किङ भित्र छिरेपछि एउटा कागजको टुक्रामा छिरेको समय लेखेर एउटा कागजको चिट दिने गरेको पाइएको छ । यसरी दिन दाहाडै कर्मचारी र पार्किङ वालाको मिलोमत्तोमा दैनिक लाखौं रुपैयाँ पार्किङ वापत उठाएको पाइन्छ । पार्किङबाट उठेको रकम यातायातका उच्च कर्मचारी र पार्किङवालाबीच हप्तैपिच्छे हिसावकिताव गरी बाँडीचुँडी गर्ने गरेको यातायातकै कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।
यस्तै, यातायात कार्यालयको मिलोमत्तोमा लाइसेन्सको लागि ट्रायल दिने सुजुकीमा मोटो कमिशनकै कारण जो यातायातका प्रमुख आए पनि सुजुकीमै ट्रायल दिने कार्य गर्दै आएको यातायातकै कर्मचारी बताउँछन् । सुजुकीमा ट्रायलका लागि राखिएका सवारी साधनहरु बाहिर हेर्दा चिटिक्क परेको देखाइए पनि गाडी कन्डीसनविहिन अवस्थामा राख्ने गरेको पाइएको छ । सुजुकीका गाडीहरुमा क्लोज राम्ररी नथिचिने, एसिलेटर ब्यालेन्समा नभएको, साइडलाइट नबल्ने र ब्रेक ठिक नभएको कारणले ट्रायल दिन जानेहरु प्रायः धेरै नै फेल हुने गरेको पाइएको छ । यसरी धेरैलाई फेल गराउँदा रि—ट्रायल दिँदा ट्रायल दिए वापतको रकम दोब्बर आउने भएकाले पनि गाडीलाई कन्डिसनमा नराखेको नाम नछाप्ने सर्तमा सुजुकीकै एक ड्राइभरले बताएका छन् ।
यसरी कमिशनकै कारण सर्वसाधारणलाई लुट्दै आएका ट्रायल सेन्टर र पार्किङवालालाई सम्बन्धित निकायले किन छानविन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन ? कतै जो आए पनि कमिशनवापतको भेटी चढाएकै कारण यिनीहरुलाई छुट हुँदै आएको हो त ? गम्भीर प्रश्न उब्जिएको छ । यस विषयमा खोजतलास जारी छ ।