तिलगाउँमा एक हप्तापछि राहत सामग्री पुग्याे

7.3k Shares

काठमाण्डाै – बाढी पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर–६ तिलगाउँमा एक हप्तापछि राहत सामग्री पुगेको छ ।

गएको बुधवार बाढी आएपछि विस्थापित भएकाहरूका लागि आज राहत सामग्री पुर्‍याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न सङ्घ–संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू पठाइएको पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार १० क्विन्टल चामल, सय लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक/एक क्विन्टल भुजा, चिउरा, १० प्याकेट चियासहित आलु, सागसब्जी, साबुनदेखि औषधिहरू पनि पठाइएको छ ।

राहत सामग्री नाम्खा गाउँपालिकाकाे केन्द्र याल्वाङबाट गाडीमार्फत हल्जीसम्म लगिएको थियो । हल्जी गाउँबाट बोकेर आधा बाटो पुर्‍याएपछि तिलगाउँबाट आएका घोडाहरूले बोकेर पीडित रहेको ठाउँमा पुर्‍याएका नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले जानकारी दिनुभयो ।

‎तिलगाउँमा बाढी पहिराका कारण १८ घरधुरी प्रभावित छन् । गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । ‎बाढी पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसालगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो ।

सम्बन्धित समाचार