काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको मनमष्तिष्कमा नैतिक रुपमा भन्ने हो भने यतिबेला सरकार नरहेको बताएका छन् । उनले जनताको नजरमा सरकार ढलिसकेको दाबी गरे ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमाथि कुनै भरोसा नभएकाले यो हुनु र नहुनुको कुनै अर्थ नभएको जिकिर गरे । उनले सरकारकै कारण लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको समेत जिकिर गरे ।
‘प्राविधिक रुपमा त सरकार बलियो नै छ । तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरोसँग विचार गर्नुहोला, सरकारका कारण देशलाई प्रतिगमनतर्फ लैजाने जमर्को भएको छ’, उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले चौतर्फीरुपमा लोकतन्त्रमाथि आक्रामण भइरहेको बेला नीति तथा कार्यक्रमले निराशा बढाउने काम गरेको समेत बताए ।