दमौली – तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको ईआईए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो ।
यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको परीक्षण सुरुङ खन्न आवश्यक विस्फोटक पदार्थ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए।
प्रस्तावित विद्युत्गृह क्षेत्रको जग्गासम्बन्धी अभिलेख जिल्ला मालपोत कार्यालयबाट संकलन गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण प्रक्रियासमेत अघि बढिसकेको छ ।
आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन प्रस्ताव स्वीकृतिका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको श्रेष्ठले बताए। जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम सङ्घीय सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनले बताए।